• १६ भदौ २०८२, सोमबार

इमेज सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्न थालियो

blog

बचतकर्ता चेक हस्तान्तरण गर्दै इमेज सहकारी सङ्घर्ष समिति । तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ १६ गते । पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई रकम फिर्ता गर्न सुरु गरिएको छ ।

इमेज सहकारी सङ्घर्ष समितिको पहलमा सोमबारबाट एक लाखसम्म बचत रहेकाहरूलाई रकम फिर्ता गर्न थालिएको हो । 

सङ्घर्ष समितिका संयोजक दीलबहादुर कार्की, समितिका पोखरा संयोजक बेलबहादुर साहानीले बचतकर्ता सुशीलाकुमारी शाहलाई ६६ हजार छ सय ३० रुपियाँको चेक दिएर रकम फिर्ता गर्न आरम्भ गर्नुभएको हो । पोखरामा एक लाखसम्म बचत गर्नेहरूको सङ्ख्या एक सय ५८ छ ।

समिति संयोजक कार्कीले साना बचतकर्ताको रकम फिर्ता गरिरहेको र ठुला बचतकर्ताको रकम सुरक्षित गर्न लागिपरेको उल्लेख गर्नुभयो । “पोखराका साना बचतकर्तालाई करिब एक करोड फिर्ता गर्छाैँ ।ठुला बचतकर्तालाई सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीको सम्पत्तिबाट रकम लिने व्यवस्था मिलाउँदै छौँ,” सोमबार ४० जना र बाँकी बचतकर्तालाई मङ्गलबार बचत फिर्ता गर्ने तयारी छ ।

इमेज सहकारीकै नाममा बागलुङमा अर्काे सहकारी दर्ता थियो । त्यसका तीन शाखाका एक लाखभन्दा कम बचत रहेका छ सय १३ जनालाई करिब पाँच करोड बचत फिर्ता भइसकेको छ । पोखरा र बागलुङ दुवैतिर गरी इमेज सहकारीमा एक अर्ब ९५ करोड हिनामिना भएको छ । 

इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सहकारीका सञ्चालकहरु चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पनि पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । संस्थापक अध्यक्ष नेपाली बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुखसमेत हुनुहुन्छ । 

नेपालीविरुद्ध पोखराकै सूर्यदर्शन सहकारी ठगीमा पनि कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । २०८० जेठ २४ गते जिल्ला अदालत बागलुङबाट पक्राउ पुर्जी जारी भएपछि फरार नेपाली भारतको नयाँदिल्लीमा गएको असोज १२ गते पक्राउ पर्नुभएको थियो ।

नेपालीलाई जिल्ला अदालत बागलुङले असोज १५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । देवकुमार पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।