• २७ वैशाख २०८३, आइतबार

सङ्खुवासभामा पहिरोले कोशी राजमार्ग अवरुद्ध

blog

सुजन बज्राचार्य

सङ्खुवासभा, भदौ १६ गते । अविरल वर्षापछि खसेको ठूलो पहिरोका कारण सङ्खुवासभाको उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ। मकालु गाउँपालिका–३ सम्माटारस्थित नेताभिर क्षेत्रमा खसेको पहिरोले करिब पाँच सय मिटर सडक बगाएको सडक डिभिजन कार्यालयले जनाएको छ।

सडक अवरुद्ध हुँदा भोटखोला गाउँपालिका जाने मुख्य बाटो पूर्णरूपमा अवरुद्ध भएको छ। अत्यावश्यक सामग्री बोकेका सवारीसाधन र यात्रुहरू बाटैमा रोकिएका कारण थप समस्या भएको स्थानीयले बताएका छन्। कतिपय बासिन्दा जोखिम मोलेर पैदल आवतजावत गर्न बाध्य भएका छन्।

उत्तर दक्षिण कोशी सडकका इन्जिनियर नरेश जिरेलका अनुसार पहिरो पन्छाउने काम सुरु गरिएको छ। तर ठूलो परिमाणमा माटो र ढुङ्गा खसेकाले सडक खुलाउन समय लाग्ने अनुमान गरिएको छ।

यसअघि पनि नेताभिर क्षेत्र वर्षायाममा बारम्बार पहिरो खस्ने उच्च जोखिमयुक्त स्थानका रूपमा चिनिँदै आएको छ।