• १६ भदौ २०८२, सोमबार

वृद्धाभत्ताबाट विद्यार्थीलाई शिक्षा

blog

पृष्ठभूमिमा सुनकोशी क्याम्पस र बृद्धभत्ताका रकम विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दे आउनुभएका सुकदेव तिमल्सिना ।

चित्रकुमार मिजार

सिन्धुपाल्चोक, भदाै १६ गते । सुनकोशी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुकदेव तिमल्सिनाले आफूले राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता(वृद्ध भत्ता) स्नातक तहमा अध्ययनरत गरिब, जेहेन्दार, पिछडिएका वर्ग समुदायका विद्यार्थीलाई छात्रवृत्तिस्वरुप वितरण गर्दे आइरहनुभएको छ । 

सुनकोशी गाउँपालिका–७ पाङग्रेटारका तिमल्सिना ७८ वर्षीय ज्येष्ठ नागरिक हुनुहुन्छ । वि.स.२०७१ सालदेखि उहाँले राज्यबाट ज्येष्ठ नागरिक भत्ता पाउनुभएको थियो । तर त्यस वर्ष उहाँले भत्ता लिनुभएन । त्यो राज्यकोषमा नै छ । तर तिमल्सिनाले २०७२ सालदेखि ज्येष्ठ नागरिक भत्ता लिई सुनकोशी क्याम्पसका विद्यार्थीहरुलाई छात्रवृत्तिस्वरुप वितरण गर्दै आइरहनुभएको छ । 

उहाँ आफैँ अध्यक्ष रहेको सुनकोशी क्याम्पसको २५ औं वार्षिकोत्सव समारोहमा राज्यबाट पाउने ज्येष्ठ नागरिक भत्ता विद्यार्थीलाई छात्रवृत्तिस्वरुप वितरण गर्नुभएको छ । यस वर्ष पनि तिमल्सिनाले २ हजार पाँच सयका दरले कमजोर आर्थिक अवस्थाका र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको रुपमा प्रदान गर्नुभएको उक्त क्याम्पसका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । 

सुनकोशी क्याम्पसको अध्यक्षसमेत रहनुभएका तिमल्सिनाले ०७१ सालदेखि ०८२ सालसम्म राज्यबाट प्राप्त ज्येष्ठ नागरिक भत्ताको सबै रकम विद्यार्थीहरुलाई छात्रवृत्तिस्वरुप वितरण गर्दै आउनुभएको प्रमुख आचार्यले बताउनुभयो ।

राज्यबाट प्राप्त प्रत्येक वर्षको ४८ हजार भत्ता तिमल्सिनाले छात्रछात्रालाई छात्रवृत्तिस्वरुप प्रदान गर्दै आउनुभएको सहायक क्याम्पस प्रमुख मोहनप्रसाद सुवेदीले बताउनुभएको छ । 

आगामी वर्षहरुमा पनि आफूले पाउने सामाजिक सुरक्षा बापतको सबै भत्ता रकम क्याम्पसमा अध्ययनरत बिद्यार्थीको शिक्षामा सहयोग गर्ने तिमल्सिनाले बताउनुभयो । उहाँले उक्त क्याम्पसमा ब्यक्तिगत ७ लाख ७५ हजार रुपियाँमा ५० जना विद्यार्थी अट्ने भवन पनि निर्माण गर्नुभएको छ । उहाँको पहलमा भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट ४० लाख, भवन निर्माणकै लागि बिश्व विद्यालय अनुदान आयोगबाट दुई पटक गरेर १ करोड अनुदान लगायतको काम भएको छ ।