• १३ असोज २०८१, आइतबार

विवाह र सम्बन्धमा अड्किएको कथा

blog

काठमाडौँ, असार १२ गते । वैवाहिक जीवनको वास्तविक अर्थ के हो ? विवाह गर्दा हेरेर गर्ने कि रोजेर गर्ने भन्ने जस्ता प्रश्नको जवाफ निर्देशक राज मेहताको पारिवारिक तथा कमेडी चलचित्र ‘जुग जुग जियो’मा पाइन्छ । वर्षौंदेखि बलिउडमा विवाह र सम्बन्ध विच्छेदजस्ता सामाजिक विषयलाई लिएर चलचित्र बनिरहेका छन् । निर्देशक मेहताले पनि यस्तै संवेदनशील विषयलाई कमेडी, भावनात्मक र हल्का नाटकीय ढङ्गले चलचित्रमा प्रस्तुत गर्न खोजेका छन् ।  

क्यानडामा बाउन्सरका रूपमा काम गर्ने कुक्कु (वरुण धवन) र मानव संशाधन विभागको उच्च पदमा काम गर्ने नैना (कियारा आडवाणी)को विवाह सम्बन्ध विच्छेदको अवस्थासम्म पुगेको छ । यी दुई यस्ता जोडी हुन्, जसको प्रेम स्कुलले जीवनमा झाँगिएको थियो र दुवै जना सानैमा प्रेम बन्धनमा बाँधिएका थिए । विवाहको पाँच वर्षमा उनीहरूमाँझ धेरै परिवर्तन भइसकेको छ र दुईबीचको अलग बस्ने सोच बनिसकेको छ । दुवै आफ्नो परिवारलाई सम्बन्ध विच्छेदको कठिन निर्णयबारे बताउन चाहन्छन् तर पञ्जाबमा रहेकी बहिनी गिन्नी (प्राजक्ता कोली)को विवाहको तयारी भइरहेको हुँदा दुवैले उनीहरूको सम्बन्धबारे कसैलाई भन्न सकेका हुँदैनन् । 

चलचित्रको कथाले तब नाटकीय मोड लिन्छ जब उनीहरूले थाहा पाउँछन् कि उनका बुवा भीम (अनिल कपुर), श्रीमती गीता (नितु कपुर)सँगको ३५ वर्ष पुरानो वैवाहिक सम्बन्ध तोडेर प्रेमिका टिस्का चोपडासँग बस्न चाहन्छन् । यस्तै कथामा अर्को पनि ट्विस्ट छ । गिन्नी विवाहमा निकै भावुक देखिन्छिन्, वास्तवमा उनी पनि अरू कसैसँग प्रेममा छिन् तर परिवारको इज्जतको कारण विवाहका लागि तयार भएकी हुन्छिन् ।

यी सबै कठिनाइका बीचमा सबै पात्रले एक अर्काको विवाहको वास्तविकता थाहा पाएपछि परिवारमा खटपट सुरु हुन्छ । समाज र संसारका लागि आदर्श लाग्ने वैवाहिक सम्बन्धको अन्त्य के होला ? के भीम आफ्नो प्रेमिकाकहाँ जान सक्छन् ? के गिन्नी आफ्नो परिवारका सदस्यलाई आफ्नो प्रेमबारे बताउन सक्छिन् ? यही प्रश्नको जवाफ हो चलचित्र ‘जुग जुग जियो’ । 

चलचित्रमा अभिनेता अनिल कपुरले भूमिकालाई धेरैले मन पराउँछन् । भीमको पात्रलाई उनले सुहाउँदो तरिकाले पस्केका छन् । लामो अन्तरालपछि चलचित्रमा प्रवेश गरेकी अभिनेत्री नितु कपुरको अभिनयमा कुनै कमी आएको छैन । उनको भूमिकामा केही सशक्त दृश्य छन्, जसलाई उनले चलचित्रमा सशक्त रूपमा प्रस्तुत गरेकी छन् ।

अनिल र नितुको जोडीले चलचित्रमा आआफ्नो समयको झल्को दिएका छन् । कुक्कुका रूपमा वरुणले भावुक हुनुका साथै आफ्नो कमेडी शैलीमा न्याय गरेका छन् । कियाराको अभिनय ठीकठाक छ । गिन्नीको भूमिकामा चलचित्रमा डेब्यु गरेकी युट्युबर प्राजक्ता कोलीको अभिनयमा केही नयाँपन झल्कन्छ । मनीष पलको अभिनय पुरानै शैलीको छ । 

निर्देशक मेहता जसले यसभन्दा अघि ‘गुड न्युज’ जस्तो राम्रो चलचित्र बनाएका थिए तर यसमा भने उनी सफल हुन सकेनन् । चलचित्रमा निर्देशकले दर्शकलाई कहाँ हसाउने र कहाँ गम्भीर बनाउने भन्ने कुरा खासै सोच्न सकेको देखिएन । चलचित्र यति धेरै मनोरञ्जनात्मक पनि छैन कि यसमा देखिएको सबै कमकजोरीलाई स्वीर्कान परोस् । 

Author

सुकृत नेपाल