• १६ भदौ २०८२, सोमबार

कम्युनिस्ट नेता नन्दनको निधन

blog

स्वर्गीय नेता नन्दन अर्याल ।

शिवशङ्कर मिश्रा

बारा, भदौ १६ गते । बारा, पर्सा र रौतहट क्षेत्रमा कम्युनिस्ट आन्दोलनको आधारशीला राख्नेमध्येका एक अग्रज नेता नन्दन अर्यालको ९५ वर्षको उमेरमा निधन भएको छ। उहाँको जन्म बाराको कलैया उपमहानगर पालिका–१४ बघवनमा १९८८ मा भएको थियो । 

लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित रहनुभएका अर्यालले उपचारको क्रममा काठमाडौँमा गएराति अन्तिम सास लिनुभएको परिवारका सदस्यहरूले बताउनुभएको छ । नेता अर्याल २०११ सालको ऐतिहासिक किसान आन्दोलनका अगुवा हुनुहुन्थ्यो । 

त्यस यताका दशकहरूमा उहाँले तराईमा किसान र श्रमिकलाई सङ्गठित गर्दै कम्युनिस्ट आन्दोलनलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । सिद्धान्त निष्ठता, त्याग र सङ्घर्षका प्रतीक अर्याल बारम्बार जेल पर्नुभएको थियो । भूमिगत कालमा राज्यद्वारा निगरानीमा राखिए तापनि उहाँले आफ्नो जीवन राजनीति र जनताको सेवामा समर्पित गर्नुभएको थियो ।

पञ्चायत शासनकालमा पटक–पटक वारेन्ट जारी भई पाँच पटकसम्म जेलजीवन बिताएका अर्यालले भूमिगत गतिविधिबाट आन्दोलनको नेतृत्व गर्नेदेखि भारतमा शरण लिनेसम्मका अनेक सङ्घर्षपूर्ण जीवन बिताउनुभएको थियो । तराईका पुराना कम्युनिस्ट कार्यकर्ताहरूका लागि अर्याल प्रेरणाका स्रोत रहनुभएको तथा उहाँको निधनले असल कम्युनिस्टहरू अभिभावक गुमाएको महसुस अहिले गरेको पूर्व जिल्ला सभापति छठु यादवले बताउनुभयो । 

नेता अर्यालको निधनले नेपाली कम्युनिस्ट आन्दोलनमा अमूल्य सिपाही गुमाएको छ। अन्त्येष्टि आज पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ। उहाँको एक छोरा र दुई छोरी रहेका छन् ।