कल्पना खरेल
नवलपरासी पश्चिम, भदौ १६ गते । नवलपरासी पश्चिमस्थित बर्दघाट बजार क्षेत्र नजिकै रहेको चुरे क्षेत्रमा जनश्रमदानबाट बर्दघाट हिलपार्क निर्माण कार्य सुरु भएको छ । विश्व वातावरण दिवस २०२५ अर्थात् गत जेठ २३ गतेदेखि सुरु भएको यो अभियान निरन्तर जारी रहने मुख्य अभियन्ता रामप्रसाद पौडेलले बताउनुभयो ।
हालसम्म विभिन्न जातका फलफूलका बोट, फूलहरुदेखि अन्य बोटबिरुवा रोप्ने, चौतारी बनाउने, पोखरी खन्ने, पार्क परिसरको झाडी सफाइ गर्ने जस्ता कार्यहरु भइरहेका छन् ।
अहिले उजाड वन क्षेत्रलाई हरियालीसहितको सौन्दर्यकरण गरेर चुरेको पर्यावरण संरक्षण गर्ने भन्दै दैनिक सयको हाराहारीमा श्रमदानका लागि जुट्ने गरेका छन् । उक्त हिलपार्कको निर्माणसँगै सो क्षेत्रको पहिचानदेखि सामाजिक र आर्थिक रुपमा लाभ लिन सकिने सम्भावना रहेको पौडेलको भनाइ छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ४ मा रहेको पारिजात सामुदायिक वन क्षेत्रमा निर्माण गर्न लागिएको बर्दघाट हिलपार्क हेर्नकै लागि अहिले दैनिकजसो बिहान मानिसहरु आउने गरेका छन् । पार्क क्षेत्रबाट बर्दघाट बजार मात्र होइन सुनवलदेखि सुस्ताको त्रिवेणीसम्मको मनोरम दृश्य हेर्न सकिन्छ ।
बर्दघाट नगरसरकारका उपप्रमुख रुद्रप्रकाश उपाध्यायदेखि बर्दघाट खानेपानी तथा उपभोक्ता सरसफाई संस्था, बर्दघाट उद्योग वाणिज्य सङ्घ, बर्दघाट उद्योग व्यापार सङ्घ, बर्दघाट बजार विकास समिति, विभिन्न आमा समूहलगायत सामाजिक सङ्घसस्था र समूहसम्मको टोलीले बर्दघाट हिलपार्कमा गएर श्रमदान गरेको छ ।
दुईवटा पोखरी खन्ने, चौपारी निर्माण गर्नेदेखि थुप्रै बोटबिरुवा लगाई सकिएको उक्त क्षेत्रमा हालसम्म दैनिक श्रमदान गर्नेहरु थपिँदै गएको अभियन्ता दिलीप खत्रीले बताउनुभयो ।
आन्तरिक तथा बाह्य पर्यटकीय स्थलको रुपमा विकास र विस्तार गर्ने योजनासहित निर्माणकार्य सुरु गरिएको उक्त पार्कको नामकरण गर्न भने अझै बाँकी छ । यद्यपि त्यसक्षेत्रका बासिन्दा र श्रमदानमा जुटेका स्थानीयले बर्दघाट हिलपार्क भनेर नाम दिएका छन् ।
सरकार, दातृसंस्था र चन्ता सङ्कलनभन्दा भाविपुस्तालाई जनश्रमदानबाट नै दीर्घकालीन रुपमा आर्थिक र सामाजिक विकास सम्भव छ भन्ने संस्कारको विकास गर्न यो अभियान थालिएको हो ।