• १६ भदौ २०८२, सोमबार

नौ ग्राम लागुऔषधसहित दुई पक्राउ

blog

बरामद गरिएको लागुऔषध । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, भदौ १६ गते ।
कैलाली प्रहरीले नौ ग्राम २३० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले गोदावरी नगरपालिका–१ बिजौराका २७ वर्षीय राजु चौधरी र टीकापुर नगरपालिका–६ नारायणपुरबाट सोही ठाउँका ४१ वर्षीय नारायण डङ्गौरालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राजुले चलाएको से ३ प ५१४१ नम्बरको मोटरसाइकल बिजौरास्थित माछा पोखरी नजिक चेकजाँच गर्दा अगाडिको भाइजरमुनि हेन्डिलको गार्डको प्वालभित्र लुकाइछिपाइ राखेको अवस्थाबाट नौ ग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

यस्तै, टीकापुर नगरपालिका–६ स्थित नारायणपुर चोकमा हिँडिरहेको नारायणलाई शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट २३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।