अर्जुन कार्की
काठेखोला (बागलुङ), भदौ १६ गते । बागलुङमा आइतबारदेखि एन्फा यू १४ अन्तर विद्यालय छात्र तथा छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । बागलुङ जिल्ला फुटबल सङ्घको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा छात्रतर्फ कालिगण्डकी आवासीय माध्यमिक विद्यालय र छात्रातर्फ न्यू ओएसिस एकेडेमीले विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा कप्तान शिव क्षेत्रीको दुई गोलको मद्दतमा कालिगण्डकीले सिद्धार्थ शिक्षा सदनलाई ३–० गोलअन्तरले पराजित गर्यो । पहिलो हाफमा शङ्कर कँडेलको गोलबाट अग्रता लिएको कालिगण्डकीका लागि दोस्रो हाफमा कप्तान शिवले दुई गोल गरेका थिए । विजेता कालिगण्डकीले तीन अङ्क प्राप्त गर्यो ।
यस्तै, छात्रा तर्फ न्यू ओएसिस एकेडेमीले विद्यामन्दिर माध्यमिक विद्यालयलाई १–० गोलअन्तरले पराजित गरेको छ । न्यू ओएसिसका लागि वर्षा कार्कीले फ्रिकिकमार्फत गरेको सुन्दर गोल जितको लागि निर्णयक बन्यो । विजेता न्यू ओएसिसले तीन अङ्क प्राप्त गरेको छ ।
लिगकम नकआउटको आधारमा सञ्चालन हुने प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ ५ विद्यालयको सहभागिता रहेको बागलुङ जिल्ला फुटबल सङ्घका अध्यक्ष जय राजभण्डारीले जानकारी दिनुभयो । उहाँले छात्रतर्फ सहभागी विद्यालयहरुलाई तीन समूहमा विभाजन गरी लिग सञ्चालन गरिएको बताउँदै समुहको टपमा रहने तीन टिम र दोस्रो स्थानमा रहने उत्कृष्ट एक टिम नकआउटको रुपमा अघिल्लो चुरणमा पुग्ने बताउनुभयो । छात्रातर्फ लिगको टपमा रहने टिम विजेता हुनेछ ।
प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिका–१ का वडाअध्यक्ष जयबहादुर केसीले विद्यालयस्तरमा रहेका साना बालबालिकाहरुलाई खेलबाट अनुशासन सिकाउन सकिने बताउनुभयो । उहाँले बालबालिकाहरुलाई खेलकुद मार्फत प्रतिस्पर्धात्मक सोचको विकास गर्नु सकारात्मक रहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा बागलुङ नगरपालिका– २ का वडाअध्यक्ष सुरज बोसेल र नेशनल प्याव्सन गण्डकी प्रदेशका उपाध्यक्ष निशान खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । बागलुङ जिल्ला फुटबल सङ्घका अध्यक्ष जय राजभण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा उपाध्यक्ष तथा प्रतियोगिताका मुख्यसंयोजक राहुल बोहोराले स्वागत मन्तव्य र महासचिव रेशम गोतामेले सञ्चालन गर्नुभएको थियो ।
प्रतियोगितामा छात्रतर्फको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार रुपियाँ तथा छात्रातर्फको विजेताले नगद १२ हजार रुपियाँ र उपविजेताले ८ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागलुङ जिल्ला फुटबल संघका कोषाध्यक्ष सूर्य लामिछानेले जानकारी दिनुभयो ।