• १६ भदौ २०८२, सोमबार

चन्द्रागिरि–१ लाई ‘बाल श्रममुक्त वडा’ घोषणा

blog

काठमाडौँ, भदौ १६  गते ।  चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा गर्ने भएको छ । यसका लागि नगरपालिकाले ‘बाल श्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ ।  

यस क्रममा आइतबार चन्द्रागिरि–१ लाई बाल श्रममुक्त घोषणा गरियो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि–१ का वडाध्यक्ष हरिश्याम रानामगरलाई ‘बाल श्रममुुक्त वडा घोषणा’ प्रमाणपत्र हन्तान्तरणसँगै चन्द्रागिरि–१ लाई बाल श्रममुक्त वडा घोषणा गरिएको थियो ।

हालसम्म नगरका १५ वडामध्ये विभिन्न १४ वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा भइसकेका छन् । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बाल श्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित नगरका वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा गरिएका हुन् । 

नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७५ को लक्ष्यअनुसार बाल श्रम निवारणको लागि बाल श्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अवलम्बन गरेको छ । साथै नगरपालिकाले बाल श्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बाल श्रममुक्त नगर तथा वडा निर्माणका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको छ । 

बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । चन्द्रागिरि नगर प्रमुख  गिरीले आइतबार आयोजित कार्यक्रममा चन्द्रागिरि–१ लाई  ‘बाल श्रममुक्त वडा घोषणा’ गर्दै बाल श्रम निवारणका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो । उहाँले घोषणा पछिको दिगोपनमा काम गर्न आग्रह गर्नुभयो । 

बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बाल श्रममुक्त बनाउँदै लगिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा नगरका सबै वडा बाल श्रममुक्त वडा घोषणा भइसक्ने छन् । 

यो नेपालकै बालश्रम मुक्त स्थानीय तहको सातौँ नम्बरमा चन्द्रागिरि आउने जनाएको छ ।  सो अवसरमा नगर उपप्रमुख वसन्ती श्रेष्ठ, जनप्रतिनिधिलगायत विभिन्न नगरपालिकाका विषयगत शाखाका प्रमुख, विभिन्न बाल क्लब, विद्यालयका छात्रछात्रा एवं स्थानीयवासीको सहभागिता थियो । 

सो अवसरमा चन्द्रागिरि–१ का वडाध्यक्ष रानामगरले बाल श्रममुक्त घोषणासम्म आइपुग्न पु¥याइएको साथ र सहयोगप्रति वडावासीलाई धन्यवाद दिँदै यसको दिगोपनका लागि भविष्यमा काम गर्ने जानकारी दिनुभयो । चन्द्रागिरि–१ वडा कार्यालयका सचिव रविन पोखरेलले समृद्ध वडा बनाउन विभिन्न काम भइराखेको बताउनुभयो   

यस अगाडि बाजागाजासहितको निस्केको ¥याली घोषणा सभामा परिणत भएको थियो । सो अवसरमा कार्यक्रममा सहभागीले ‘चन्द्रागिरि नगरपालिका, १ नं वडा, काठमाडौँलाई बाल श्रममुक्त घोषणा गरी हामी नगरपालिकाका जनप्रविधि, विषयगत समिति, विद्यालय, बाल क्लब, सञ्चारकर्मी, उद्योग व्यवसायी, सङ्घसस्था तथा सरोकारवालाहरू बाल श्रममुक्त वडालाई नियमितता दिन र बाल श्रम निवारण गर्न प्रतिबद्धछौँ’ भन्ने घोषणापत्रमा हस्ताक्षर समेत गर्नुभएको थियो । बाल श्रममुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ । 

यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्ने जनाइएको छ । अन्तरराष्ट्रिय श्रम सङ्गठनका ९आइएलओ० को प्रतिवेदनअनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका ७० लाख बालबालिकामध्ये ११ लाख बाल श्रममा संलग्न छन् । १३ वर्ष उमेर समूहसम्मका बालबालिकाको संलग्नता १८ प्रतिशत रहेको छ भने १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका श्रममा छन् । बालकभन्दा बालिका श्रममा बढी रहेको जनाइएको छ । १४ प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा रहेका हुन्छ । रासस