दमौली (तनहुँ), भदौ १६ गते । जिल्ला प्रशासन कार्यालय तनहुँले फरक क्षमता (अपाङ्गता) भएलाई निवासमा नै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्ने कार्यलाई जारी राखेको छ ।
यस क्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आइतबार व्यास नगरपालिका–११ का मिनानाथ पन्थ र पवित्रादेवी पन्थकी फरक क्षमता भएकी छोरी २७ वर्षीया सविना पन्थलाई निवासमै नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो ।
विविध कारणवश हालसम्म नागरिकता प्राप्त नगर्नुभएकी सविनालाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।
सविनाको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयमा तयार गरिएको थियो । प्रमुख जिल्ला अधिकारी अधिकारीले भन्नुभयो, “ छिटो, छरितो र सहुलियत ढङ्गले सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य हो, सविना अपाङ्गता भएका कारण आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर नागरिकता दियौँ । यस्ता कार्यले सरकारप्रतिको भरोसा र सकारात्मक धारणा थप अभिवृद्धि भएर जानेछ । ”
यसअघि प्रजिअ अधिकारीले गत साउन ६ गते म्याग्दे गाउँपालिका–१ गुणादी निवासी फरक क्षमता भएकी २० वर्षीया नवीना खनाललाई उहाँको निवासमै नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रासस