सुर्खेत समाचारदाता
सुर्खेत, भदौ १६ गते । कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइनको काम तिहारसम्ममा सम्पन्न गरेर सञ्चालनमा ल्याउन सङ्घ तथा प्रदेश सरकारले एकसाथ निर्देशन दिएका छन् । शनिबार विद्युत् प्रसारण लाइन अन्तर्गत सुर्खेतदेखि बाँकेको कोहलपुरसम्म बनेको विभिन्न संरचनाको स्थलगत निरीक्षण गर्न पुग्नुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र चिसापानीको एक छलफलमा पुगेका सङ्घका वन तथा वतावरणमन्त्री ऐनबहादुर शाहीले सो निर्देशन दिनुभएको हो ।
मुख्यमन्त्री कँडेलले कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइनको काम सक्न निर्माण पक्षलाई तिहारसम्मको सीमा दिनुभएको छ । त्यस्तै सङ्घीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मन्त्रालयका तर्फबाट गर्नुपर्ने काम आफूहरूले गर्ने तर समयमा काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “हामीले के के गर्नु पर्छ गरौँला गरिरहेका पनि छौँ, बाँकी केही समस्या देखिएमा लेखेर पठाउनूस्, मन्त्रालयस्तर र मन्त्रीपरिषद्बाट निर्णय गर्नुपर्ने भए गर्छौं, अब प्रसारण लाइनको काम सक्न ढिला नगर्नू ।” मुख्यमन्त्री कँडेलले निर्माण पक्षलाई आगामी तिहारसम्मको अवधिभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाँले विद्युत् प्रसारण लाइनमा जनस्तरबाट देखिएको समस्या समाधान भइसकेकाले अब निर्माण कार्यमा ढिलाइ नगर्न पनि आग्रह गर्नुभयो । आगामी तिहारसम्म विद्युत् प्रसारण लाइनको फिल्डको काम सकेर सुर्खेत वीरेन्द्रनगरको सुब्बाकुनामा रहेको सबस्टेसनमा विद्युत् जोड्ने गरी काम सम्पन्न गर्न आयोजना कार्यालयलाई उहाँले निर्देशन दिनुभयो ।
“अहिलेसम्म विभिन्न कानुनी र स्थानीयसँगको विवादलाई देखाएर ढिलाइ भयो, अब ती समस्या समाधान भइसकेका छन्,” उहाँले भन्नुभयो, “मौसम प्रतिकूलतालाई देखाएर अब ढिला गर्ने छुट छैन, जतिसक्दो छिटो प्रसारण लाइनको काम सम्पन्न गर्नूस्, प्रदेश र सङ्घीय सरकारबाट कुनै निर्णय, समन्वय एवं सहकार्य गर्नुपर्ने भए जानकारी गराउनूस् ।” उहाँले बर्दिया निकुञ्जका कर्मचारीलाई पनि कर्णालीवासीको दिनचर्यासँग जोडिएको राष्ट्रिय प्राथमिकता प्राप्त विद्युत् आयोजनामा देखिएको अवरोधलाई स्थानीयस्तरबाटै समाधान गर्न पहलकदमी लिन जोड दिनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अशोक रामले काटिएका काठ ल्याउन बाँकी रहेकाले अब रुख कटान र ढुवानीमा ढिलाइ नगर्ने प्रतिबद्धता जनाउनुभयो भने १३२ केभिए विद्युत् प्रसारण आयोजना प्रमुख रवि चौधरीले १६२ वटा टावरमध्ये तीन वटा मात्र निर्माण गर्न बाँकी रहेको र १० किमी लाइन तान्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाँके बानियाँभारमा खेतको पानीले गर्दा टावरको जग खन्न ढिलाइ भएको र पानी कम हुनेबित्तिकै यसलाई पूरा गरिने छ ।
सो प्रसारण लाइनका लागि यसअघि बाँकेको बानियाँभार, गाभर र सुर्खेतको सुब्बाकुनामा मुआब्जा विवाद थियो । सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको हकमा मुआब्जा नीतिमा फेरबदल गरेपछि देखिएको विवाद हल भएको छ । साथै आयोजनाले भौगोलिक जटिलताले रुख काट्न र ढुवानी गर्न समस्या हुने केही स्थानमा ड्रोनको सहायताबाट लाइन जोड्ने तयारी गरेको छ । बाँकेको कोहलपुरबाट सुरु भएर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, स्थित सुब्बाकुना सबस्टेसन पुगेर टुङ्गिने प्रसारण लाइनको दुरी ५२ किलोमिटर छ । उक्त आयोजनाबाट विद्युत् आएपछि प्रदेश राजधानी सुर्खेतलगायत कर्णालीमा देखिएको विद्युत्को समस्या समाधान हुने अपेक्षा गरिएको छ ।