पञ्चकोशी समाचारदाता
पञ्चकोशी (दैलेख), भदौ १६ गते । राष्ट्रिय परिचयपत्र बनाउने विवरण भर्न आउने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले स्टेसन थप गरेको छ । पछिल्लो समयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि कार्यालयले इलाका प्रशासन कार्यालय दुल्लुमा स्टेसन थप गरेर राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरेको हो ।
दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बढ्दो सेवाग्राहीको चापलाई ध्यानमा राख्दै इलाका प्रशासन कार्यालय, दुल्लुमा राष्ट्रिय परिचयपत्र दर्ता स्टेसन थप गरिएको बताउनुभयो । भिडले गर्दा यही भदौ ८ गतेदेखि स्टेसन सञ्चालनमा आएको प्रशासनले जनाएको छ । नयाँ स्टेसन थपसँगै सेवाग्राहीलाई सहज भएको स्थानीय भैरवी गाउँपालिका–१ का सङ्गीता विकले बताउनुभयो । जिल्लामा चालु आर्थिक वर्षको असार मसान्तसम्ममा जिल्ला प्रशासन कार्यालय दैलेखमा ११ हजार २८२ जना र इलाका प्रशासन कार्यालय दुल्लुबाट सात हजार १९६ गरी कुल १८ हजार ४७८ जनाले राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गराएका छन् ।