कालीकोट समाचारदाता
कालीकोट, भदौ १६ गते । सुर्खेत–जुम्ला कर्णाली राजमार्गको जोखिम खण्ड अहिलेसम्म मर्मत भएको छैन । सडक सञ्चालनमा आएको दुई दशक पुग्न लाग्दा पनि जोखिम भएका खण्डमा मर्मत हुन सकेको छैन ।
कालीकोटको एस मोड, ज्यानमारा भिर, गगनेखोला, सेरीघाट वारिपारि, मेयरखोला, माथिल्लो सुनारखोला, मान्म जिरो प्वाइन्ट, गल्लीभिर, बिहानीखोला, पिली, टाकुल्लाखोला, टिमेरे भिर, तल्लो खल्ला र माथिल्लो खल्ला पुल क्षेत्र, राँचुली खण्डमा जहिले पनि जोखिम हुने गरेको छ । सडक डिभिजन कार्यालय जुम्लाले मर्मतका लागि ठेक्का खोल्दा एक पटक टिमुरे भिर, माथिल्लो सुनारखोला, सेरीघाट बजार, ज्यानमारा भिर र एक पटक एस मोड खण्ड मात्र मर्मत गरेको थियो ।
१९ वर्षसम्म जोखिम क्षेत्रमध्ये पाँच ठाउँमा मात्र मर्मत भयो । चालक महेश न्यौपानेले आफू २०६३ देखि ट्याक्टर चलाउँदै अहिले हायस गाडी चलाउँदासमेत कर्णाली राजमार्गको जोखिममा कमी आउन नसकेको बताउनुभयो । कालीकोट सदरमुकाम मान्म जिरो प्वाइन्टको मुखको जोखिम क्षेत्रमा सुधार गर्न सडक डिभिजनले पनि ठेक्का नलगाउँदा झन् जोखिम बढेको चालकको भनाइ छ । अर्का चालक धीरेन्द्र शाहीले एस मोड, ज्यानमारा भिर, गगनेखोला, सेरीघाट वारिपारि, मेयरखोला, माथिल्लो सुनारखोला, मान्म जिरो प्वाइन्ट, गल्ली भिर, बिहानीखोला, पिली, टाकुल्लाखोला जस्ता जोखिमयुक्त क्षेत्रमा सुधारको आवश्यकता रहेको बताउनुभयो । सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर सौरभकुमार सिंहले जुन खण्डका लागि पैसा आएको हुन्छ तिनै खण्डको ठेक्का हुने गरेको बताउनुभयो ।