हरिकृष्ण ऐडी
मुगु, भदौ १६ गते । गोरखापत्र दैनिकका मुगु समाचारदाता हरिकृष्ण ऐडीसहित पाँच जना पत्रकार र एकजना जिल्लाकै उत्कृष्ट उद्घोषकलाई सम्मानित गरिएको छ ।
जिल्ला समन्वय समितिको आयोजनामा शुक्रबारदेखि शनिबारसम्म सञ्चालन भएको जिल्लाका सरोकारवाला निकायहरुको वार्षिक समीक्षा र सार्वजनिक सुनुवाइ सम्पन्न कार्यक्रमको अवसरमा मुगुका पाँच जना क्रियाशील पत्रकार र एकजना जिल्लाकै उत्कृष्ट उद्घोषकलाई आइतबार सम्मान गरेको हो ।
हरेक वर्ष जिल्ला समन्वय समितिको सहजिकरणमा गरिँदै आएको जिल्लाका सरोकारवाला निकायहरुको दुई दिने वार्षिक समीक्षा र सार्वजनिक सुनुवाइ कार्यक्रमको समापन कार्यक्रममा गोरखापत्र दैनिक मुगुका समाचारदाता हरिकृष्ण ऐडी, रेडियो नेपाल मुगुका सम्वादाता एवम् पत्रकार महासंघ मुगुका संस्थापक अध्यक्ष बिनोद कुमार मल्ल, अन्नपूर्ण पोष्ट मुगुका समाचारदाता जीवन सेजुवाल, नयाँ पत्रिका मुगुका समाचारदाता अच्युतराज भण्डारी, सामुदायिक रेडियो मुगुका सम्बादाता खड्क सुनार, सरोकार टेलिभिजन मुगुका सम्वादाता कविराज कार्की र जिल्लाकै उत्कृष्ट उद्घोषक नन्द बहादुर रोकायालाई सम्मान गरिएको आयोजक मुलसमारोह समितिका संयोजक मञ्जनबहादुर कार्कीले बताउनुभयो ।
उहाँले पाँच जना पत्रकारले जिल्लाको सत्य तथ्य समाचार सम्प्रेषण गरी यस जिल्लालाई उजागर गर्न महत्त्वपूर्ण भूमिका कायम गर्न पत्रकारिताको माध्यमबाट खेलेको भूमिकाको कदर गर्दै सो सम्मान गरिएको बताउनुभयो । जिल्लाकै उत्कृष्ट उद्घोषक रोकायाले प्रष्ट वक्तामा सहजिकरण गर्न उल्लेखनीय भूमिका खेलेकोमा सम्मान गरिएको समितिले जनाएको छ ।