पाटन (ललितपुर), भदौ १६ गते । नेपाल टेक मार्केटले नेपालको फोहरमैला व्यवस्थापनका लागि आधुनिक (स्मार्ट) ‘सफ्टवेयर’ प्रणालीको सार्वजनिक गरेको छ । आधुनिक प्रविधिको विकाससँगसँगै सहरी सरसफाइका लागि सहजता ल्याउने अभिप्रायले सोलिड वेष्ट एशोसियशन म्यानेजमेन्ट नेपाल, अपकोड नेपाल र नेपाल टेक मार्केटको सहकार्यमा फोहर व्यवस्थापन प्रणाली सार्वजनिक गरिएको नेपाल टेक मार्केटका प्रमुख कार्यकारी अधिकृत चीरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।
“यो पहल केवल प्रविधि मात्र होइन, सामाजिक जिम्मेवारीसँग जोडिएको हाम्रो सामूहिक सङ्कल्प हो, फोहर समस्या मात्र होइन, यसलाई सदुपयोग गरेर पुनःप्रयोग गर्ने, पुनःचक्रण गर्ने, नयाँ प्रविधि ल्याउने र दीगो समाधान सिर्जना गर्ने सुनौलो अवसर हो”, अधिकारीले भन्नुभयो ।
उहाँले यो प्रणाली उपभोक्ताको आवश्यकता र बजारको मागलाई ध्यानमा राखेर विकसित गरिएको बताउनुभयो । उहाँले यस प्रणालीमा कृत्रिम बुद्धिमत्ताको प्रयोग गरिएको जानकारी दिँदै यसले फोहर व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।
आइतबार ललितपुरमा आयोजित कार्यक्रममा फोहर ब्यवस्थापन प्रणाली बारे जानकारी दिनुहुँदै अपकोड नेपालका वरिष्ठ सफ्टवेयर इञ्जिनियर मङ्गल कृष्ण प्रधानले फोहरमैला व्यवस्थापन प्रणालीलाई प्रयोगकर्तामैत्री बनाउन नवीनतम प्रविधि र विश्वव्यापी प्रचलन समावेश गरिएको बताउनुभयो ।
“यो प्रणाली बलियो, सुरक्षित र प्रयोग गर्न सजिलो छ, यसले फोहर सङ्कलन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँछ, नेपालको भविष्यको नीति कागजमा मात्र होइन, सपना देख्ने, सिर्जना गर्ने र सहकार्य गर्ने हाम्रा हातमा लेखिन्छ, आज हामी केवल एउटा सफ्टवेयरको विकास मात्रै गरिरहेका छैनौँ, एउटा व्यवस्थापन प्रणालीको विकास गरेर सुन्दर र सुखी भविष्यका लागि अभियान सुरु गर्दछौँ । सुन्दर र सफा सहरको दीगो विकासको लागि सचेतनाका लागि नागरिकको अभियानलाई सफल बनाउन लागि रहेका छौँ”, उहाँले भन्नुभयो ।
इञ्जिनियर प्रधानका अनुसार यो फोहर व्यवस्थापन सफ्टवेयरको सम्भावित प्रयोगकर्ताहरू फोहरमैला व्यवस्थापनमा काम गर्ने संस्था, घरयासी फोहर उत्पादन गर्ने, हस्पिटल, होटल, व्यवसायी, विद्यालय, सरकारी संस्था आदि यो सफ्टवेयरका प्रयोगकर्ता हुन् ।य स सिस्टममार्फत प्रत्येक फोहर व्यवस्थापन गर्ने कम्पनी, फोहर उत्पादन गर्ने सङ्घ संस्था, घरबीच अन्तरसम्पर्क गर्न सकिनेछ । फोहर व्यवस्थापन गर्न लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्नु साथसाथै यो सिस्टमले नगरपालिकाको लागि छुट्टै ड्यासबोर्ड उपलब्ध गराएको छ। नगरपालिकाका युजरबाट आफ्नो नगर वडामा फोहर व्यवस्थापनका के–के गतिविधिहरू भइरहेको छ भनेर थाहा पाउन सक्नेछ ।
यो फोहर व्यवस्थापन प्रणालीले नेपालमा फोहर व्यवस्थापनको क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्य राखेको उहाँले जानकारी गराउनुभयो । यो प्रणालीमा फोहर बोक्ने सवारीमा जिपिएस प्रणालीको उपयोग, फोहरको वर्गीकरणअनुसार व्यवस्थित पुनःउपयोगलाई जोड दिने जानकारी गराइएको छ ।
नेपाल टेक मार्केटका प्रमुख व्यावसायिक अधिकृत सुष्मिता पौडेलले यस प्रणालीले प्रयोगकर्ताबाट सकारात्मक प्रतिक्रिया पाएको बताउनुभयो । “प्रविधिको उपयोगबाट हुने डिजिटल रुपान्तरणले जनजीवनलाई सहज बनाउँदै हरेक घरघरलाई फोहरको वर्गीकरण गर्न प्रेरित गर्छ, यसले स्थानीय तहको कार्यक्षमता बढ्छ । सफा सहर कायम गर्दै समुदायलाई सबल बनाउन प्रेरित गर्छ”, उहाँले भन्नुभयो ।
यस अभियानले नीति निर्माता, नगरपालिका, निजी क्षेत्र, नवप्रवर्तनकर्ता र समुदायलाई एकताबद्ध गराउँदै सफा र सुन्दर सहर निर्माणतर्फ ठोस कदम चाल्ने लक्ष्य राखेको जनाइएको छ ।
यो प्रणालीमार्फत ‘सफा सहर अभियान’ लाई दीर्घकालीन पहलको रूपमा स्थापित गर्ने, फोहर व्यवस्थापन प्रणाली नीति तथा रणनीतिक संवादलाई प्रवर्द्धन गर्ने, पुनःचक्रण उद्योग र हरित रोजगारीका अवसर उजागर गर्ने, विद्यालय र समुदायमार्फत नागरिकलाई सक्रिय बनाउने, अन्तरराष्ट्रिय अभ्यासलाई नेपालमा लागू गर्ने र सञ्चारमाध्यममार्फत प्रभाव सिर्जना गर्ने लक्ष्य राखिएको नेपाल टेक मार्केटका प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी गराउनुभयो । रासस