लोकप्रिय शिक्षक, किसान आन्दोलनका अगुवा, प्रतिबद्ध कम्युनिस्ट नेता एवं प्रगतिवादी साहित्यकार । विभिन्न आयाममा विस्तारित नेत्रलाल अभागीको साङ्गोपाङ्गो व्यक्तित्वलाई क्यानभासमा उतार्ने जमर्कोका रूपमा प्रकाशित छ– ‘सहिद नेत्रलाल अभागी स्मृति ग्रन्थ’ ।
सहिद नेत्रलाल स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ग्रन्थमा अभागीका सहकर्मी, परिवार र आफन्तजन, राजनीतिक व्यक्तित्व, पत्रकार/साहित्यकार, सहयात्री, आश्रयदाता, शिष्य, अनुयायी र शुभचिन्तक गरी १३९ जनाले स्मृतिका आफ्ना रङ्ग र कुचीहरू प्रयोग गर्नुभएको छ ।
नेत्रलाल अभागीले असाध्यै पीडादायी ढङ्गले मृत्युवरण गर्नुभएको त्यो दुःखद कालखण्डको पनि आज चार दशक बितिसकेको छ तर उहाँ आज पनि आफ्ना सत्कर्महरूमा, साहित्यिक सिर्जनाहरूमा र बलिदानमा जीवन्त बाँचिरहनुभएको छ । आखिर मान्छेहरू दुई खाले हुँदा रहेछन्– एकथरी तिनीहरू, जसको कीर्ति, स्मृति र सम्मान समयरेखाले मेटाउन सक्दैन र अर्काथरी तिनीहरू, जो भौतिक देहसँगै स्मृतिबाट समेत बिलाई जान्छन् । नेत्रलाल अभागी पहिलो श्रेणीको व्यक्ति हुनुहुन्थ्यो ।
दाङको निम्नमध्यम वर्गीय परिवारमा जन्मिनुभएका नेत्रलाल पौडेल उच्च शिक्षाका लागि काठमाडौँ आएपछि प्रसिद्ध साहित्यकार श्यामप्रसादको सान्निध्यबाट कम्युनिस्ट आन्दोलनमा जोडिनुभयो । ‘अभागी’ उपनामलाई पहिचान बनाउन सुरु गर्नुभयो । २०२३ सालमा विधिवत् रूपमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका उहाँले पार्टी सदस्यताको गरिमा, वजन र पवित्रतालाई जीवनपर्यन्त रक्षा गरिरहनुभयो । स्नातक तह उत्तीर्ण गरिसकेपछि पार्टीकै योजनामा अर्घाखाँचीको चुत्राबेँसीस्थित जनज्योति माध्यमिक विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गर्न पुग्नुभयो । उहाँले त्यहाँ सयौँ विद्यार्थी र अभिभावकलाई कम्युनिस्ट आन्दोलनलाई जोड्न महत्वपूर्ण भूमिका खेल्नुभयो । पञ्चायती तानाशाहीको त्यस कालरात्रिमा शिक्षकको आवरणमा जागृति दियो बाल्न सहज थिएन तर उहाँले आफ्नो मृदुभाषी र सरल स्वभाव, सत्चरित्र र प्रभावशाली शिक्षणकलाले धेरैलाई मुग्ध पार्नुभयो । २०४३ सालमा भूमिगत कार्यकर्ताका रूपमा अर्घाखाँची पार्टीको जिम्मा लिएर त्यहाँ पुग्दा मैले पार्टीका अब्बल कार्यकर्ता र समाजका पनि असल सदस्यका रूपमा रहेका नेत्रलाल अभागी, वीरबहादुर सिंह र केशरमणि पोखरेलहरूबाट दीक्षित धेरै विद्यार्थी भेट्ने मौका पाएको थिएँ । २० वर्षपछि पनि अर्घाखाँचीले नेत्र ‘माड्साब’ लाई असाध्यै श्रद्धासाथ स्मरण गरेको सुन्दा उहाँको अभाव अझ बढी खट्किएको थियो । गुणनिधि भुसालको संस्मरणमा उहाँको योगदानको चर्चा गरिएको छ । एक जना असल गुरुका रूपमा उहाँको योगदान उहाँका विद्यार्थीले सम्झना गरेका छन् ।
केही वर्षपछि शिक्षककै रूपमा दाङ सर्नुभएका कमरेड अभागीले पार्टीको दाङ जिल्ला कमिटीको सचिवका रूपमा आन्दोलनको नेतृत्व गर्नुभयो । त्यतिबेला कम्युनिस्ट आन्दोलन विभाजन र विखण्डनको कष्टदायी कालखण्डबाट गुज्रिरहेको थियो । पुष्पलाल र तुल्सीलालको मतभिन्नताबाट सुरु भएको विभाजनको शृङ्खलापछि मनमोहन, मोहनविक्रम र शम्भुरामहरूले संयोजन गर्नुभएको ‘केन्द्रीय न्युक्लियस’ हुँदै अझ गहिरिँदै गयो । अनि विभाजनलाई औपचारिकता दिनुभयो मोहनविक्रमले– २०३१ सालमा एक्लै पार्टीको ‘चौथो महाधिवेशन’ आयोजना गरेर । कमरेड नेत्रलाल अभागी केही समय त्यही समूहसँग आबद्ध हुनुभयो । दाङमा किसान आन्दोलनको संयोजन र पार्टी विस्तार गरेको थाहा पाएपछि उहाँमाथि तत्कालीन निरङ्कुश सत्ताको कुदृष्टि लागिसकेको थियो । उहाँ माध्यमिक विद्यालयको प्रधानाध्यापकको सुविधा र परिवारको रेखदेखको दायित्व दुवैलाई त्यागेर कठोर भूमिगत यात्रामा हेलिइसक्नुभएको थियो ।
तर, मोहनविक्रम सिंहले नेतृत्व गर्नुभएको चौथो महाधिवेशन समूहको जडता, सङ्कीर्णता र वैचारिक विचलनका कारण त्यससँग उहाँको छिट्टै मोहभङ्ग भयो । त्यसबाट विद्रोह गर्दै उहाँहरूले दाङमा सन्देश समूह सङ्गठित गर्नुभयो– आफूहरूले प्रकाशन गर्ने गरेको ‘सन्देश’ पत्रिकाका नाममा । उहाँहरू कम्युनिस्ट आन्दोलनको पुनर्गठन र एकीकरणको बाटो पहिल्याउने कष्टसाध्य प्रयास गर्नुभयो । त्यस कालखण्डका तितामिठा संस्मरण मोहनविक्रम सिंहले समेत गर्नुभएको छ ।
त्यसभन्दा अगाडि नै कम्युनिस्ट आन्दोलनमा व्याप्त विभाजन, विखण्डन, विचलन र नैराश्यमाथि प्रभावकारी हस्तक्षेप गर्दै झापाका क्रान्तिकारीले विद्रोह गरिसकेका थिए । कतिपय गल्ती, कतिपय उग्रवामपन्थी विचार र भोग्नु परेको चरम दमनका कारण झापा विद्रोह कमजोर भए पनि त्यसले समाजमा ल्याएको जबर्जस्त कम्पन र त्यसले बालेको आशाको दियो भने निरन्तर अगाडि बढ्दै थियो । २०३२ मा को–अर्डिनेसन केन्द्र सङ्गठित गर्दै नयाँ स्तरबाट पार्टी पुनर्गठनको बाटो हिँडिरहेको यो धारका बारेमा सुनेका नेत्रलाल अभागीलगायत कमरेडले ‘दङ्गालीको चिठी झापालीलाई’ नामक गीतिसन्देश नै पठाउनुभएको थियो । जसको जवाफमा झापालीले पनि त्यसै शैलीमा जवाफ फर्काउनुभएको थियो । त्यसअगाडि नै को–अर्डिनेसन केन्द्रसँग एकीकरण गर्नुभएका ‘मुक्तिमोर्चा समूह’ का नेता जीवराज आश्रित, मदन भण्डारी र मोदनाथ प्रश्रितहरूका माध्यमबाट सन्देश समूह पनि को–अर्डिनेसन केन्द्रसँग एकीकरणको निष्कर्षमा पुग्यो । को–अर्डिनेसन केन्द्र त्यतिबेला पनि केही अव्यावहारिक र अतिवादी सोचहरूको धङधङीबाटै गुज्रिरहेको थियो । यसले २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीको अस्तित्व नै स्वीकार गर्दैनथ्यो । पुराना पुस्ताका नेतालाई कम्युनिस्ट नै ठान्दैनथ्यो र ‘जमिनदार खत्तम’ र गुरिल्ला युद्धको भ्रमबाट मुक्त भइसकेको थिएन । ती कतिपय कुरासँग न त मुक्तिमोर्चाको नै सहमति थियो न त नेत्रलाल अभागीसहित सन्देश समूहको नै । तर, बृहत्तर कम्युनिस्ट एकताको आवश्यकतालाई ध्यानमा राखेर उहाँहरू असहमतिका बिचमा पनि एकताको निष्कर्षमा पुग्नुभयो ।
त्यसकै जगमा २०३५ सालमा नेकपा (एमाले) बन्यो र उहाँहरूको निरन्तर वैचारिक सङ्घर्षले पार्टीलाई लोकतान्त्रिक, शान्तिपूर्ण र लोकप्रिय धारमा उभिएको नयाँ शक्तिका रूपमा माथि उठाउन निर्णायक भूमिका खेल्यो । कमरेड ‘वशिष्ठ‘ का रूपमा उहाँ नेकपा (माले) को केन्द्रीय सदस्य र सुदूरपश्चिम क्षेत्रीय कमिटीको सचिव बन्नुभयो र नेतृत्वदायी भूमिकामा स्थापित हुनुभयो । एकता र एकीकरणका ती प्रसङ्ग मदन भण्डारी, जीवराज आश्रित र मोदनाथ प्रश्रितलगायतका संस्मरणमा जीवन्त ढङ्गले अभिलेख गरिएका छन् ।
दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुरसम्म तत्कालीन नेकपा (माले) को सङ्गठन विस्तार र सुदृढीकरणमा कमरेड नेत्रलाल अभागीको योगदान महत्वपूर्ण छ । जस्तोसुकै कष्ट पनि सहन गर्न सक्ने, भोकभोकै दिन बिताउन सक्ने, अत्यन्त सरल र सादगीपूर्ण जीवनशैली र गोपनीयताको कडाइसाथ पालना गर्ने स्वभावका कारण उहाँ जनतासँग सजिलै भिज्न सक्नुहुन्थ्यो । सेल्टर निर्माण गर्न सक्नुहुन्थ्यो र कार्यकर्ता उत्पादन गर्न सक्नुहुन्थ्यो । त्यतिबेला सँगै काम गर्नुभएका युवराज ज्ञवाली, देवेन्द्र घिमिरे, वामदेव गौतम, गोविन्द कोइराला, लक्ष्मण ज्ञवालीलगायतले उहाँको अनुकरणीय जीवनशैलीको सम्मानका साथ स्मरण गर्नुभएको छ । सेल्टरदाताले उहाँसँग बिताएका ती दिन सम्झिनुभएको छ ।
अभागी प्रगतिवादी साहित्यिक स्रष्टा हुनुहुन्थ्यो । साहित्यप्रतिको यही लगावले नै नेत्रलाल पौडेललाई नेत्रलाल ‘अभागी’ बनाएको थियो । पत्रिकाको सम्पादक, स्तम्भलेखक र कविका रूपमा उहाँको स्रष्टा व्यक्तित्व विस्तारित भएको छ । ‘सतिसाल मात्रै ठिङ्ग उभिन सक्छ’ कविता उहाँको पहिचान र प्रतिनिधित्वको कविताका रूपमा कालजयी रचना बनेर रहेको छ । अन्य रचनाले पनि जनताको पीडाको संवेदनायुक्त चित्रण गरेका छन् । तिनीहरू वर्ग पक्षधरतामा दृढतापूर्वक उभिएका छन् । प्रतिक्रियावादीविरुद्ध विद्रोहको शङ्खघोष गरेका छन् र तिनीहरूले परिवर्तनको अदम्य आशावाद बोकेका छन् । नारायण शर्मा, डा. अमर गिरी, डा. नेत्र एटम, डा. मधुसूदन गिरी र डा. सुबोध गौतमहरूले उहाँको साहित्यिक व्यक्तित्व र सिर्जनाको गहिरो समीक्षा गर्नुभएको छ ।
अन्तरमुखी स्वभाव, आफ्ना पीडा र दुःख नबाँड्ने शैली एवं जस्तो कष्टलाई पनि चुपचाप सहन गर्ने कमरेड ‘वशिष्ठ’ को यही स्वभाव दुर्भाग्यवस उहाँको पीडादायी निधनको कारण बन्न पुग्यो । धेरैअगाडिदेखि नै उच्च रक्तचापको बिमारी उहाँले लामो समयसम्म त्यसलाई चुपचाप सहन गरिरहनुभयो । एउटा सेल्टरबाट अर्कोमा जाँदा साथीहरूलाई दुःख हुन्छ भनेर रातविरात एक्लै जङ्गलको यात्रा गरिरहनुभयो । यसै क्रममा २०४१ जेठमा सिराहाको बुढियाचापमा आयोजित केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन सेल्टरबाट यात्रा सुरु गर्नुभएका कमरेड अभागी दाङको सुकेखोला किनारमा बिरामी भएर ढल्नुभयो । अन्तिम अवस्थामा उहाँलाई कति छट्पटी भयो होला, उहाँले राष्ट्र, जनता, सहयोद्धाहरू र परिवारलाई कति सम्झिनुभयो होला र कति कष्टपूर्ण ढङ्गले अन्तिम सास लिनुभयो होला– अँध्यारोमा आकाशमा टिलपिलाइरहेका ताराहरू, जङ्गलका रुखहरू र खोला किनारका ढुङ्गाहरू मात्रै साक्षी रहे तर तिनीहरू कोही बोल्दैनन् । त्यसैले हामीले उहाँको महाप्रस्थानका बारेमा अनुमान मात्रै गर्न सक्छौँ । पार्टीले लामो समय लगाएर झन्डै छ महिनापछि मात्रै उहाँको अस्थि अवशेष (खप्पर) भेटाएर मृत्युको पुष्टि गर्न सक्यो । यसरी दाङमा जन्मेको योद्धाको देहावसान दाङकै माटोमा भयो । रक्तबीज जस्तै बनेर पोखिनुभएका उहाँले धेरै क्रान्तिवीर जन्माउनुभयो ।
माथि भनिए झैँ उहाँ आफ्ना कर्म, कीर्ति र कृतिहरूमा आज पनि बाँचिरहनुभएको छ– उहाँको भनाइको यस अंशमा जस्तै, ‘तिनीहरूले मात्रै जीवन जीवन झैँ बाँचेका छन्, जसले जीवनलाई बदल्न जीवन लगाएका छन् ।’