• १ जेठ २०८१, मङ्गलबार

सुर्खेतको बजेट

प्राथमिकतामा पूर्वाधार विकास

blog

कर्णाली ब्युरो

सुर्खेत, असार १२ गते । सुर्खेत जिल्लाका नौवटा पालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएका छन् । बजेट आकारका हिसाबले वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा ठूलो झन्डै दुई अर्बको बजेट ल्याएको छ । चिङ्गाड गाउँपालिकाले सबैभन्दा कम ३९ करोड ३८ लाखको बजेट सार्वजनिक गरेको छ । प्रायः पालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, विद्युतीकरणलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेका छन् । 

वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब ९४ करोड ११ लाख १२ हजार पाँच सय रुपियाँको बजेट ल्याएको छ । चालूतर्फ एक अर्ब ३७ करोड ३५ लाख ७६ हजार रुपियाँ र पुँजीगततर्फ ५६ करोड ५५ लाख ३६ हजार पाँच सय रुपियाँ र वित्तीय व्यवस्थापनतर्फ तीन करोड २० लाख रुपियाँ बजेट सार्वजनिक गरिएको छ ।

बजेटले सडक तथा पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, उद्यमशीलतालाई प्राथमिकता दिएको छ । कृषितर्फ दुई करोड पाँच लाख र पशुतर्फ ६३ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । कृषि तथा पशु प्रवद्र्धनका कार्यक्रम, कृषि उत्पादन, कृषकलाई अनुदान, कृषि पूर्वाधार कार्यक्रम, प्रविधि हस्तान्तरण, बजारीकरणका कार्यक्रमलाई बजेटले समेटेको छ ।शिक्षा क्षेत्रका लागि ४४ करोड ९१ लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरिएको छ । 

विपन्न र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, मातृ तथा नवशिशु कार्यक्रम, गर्भवती महिलाका लागि आकस्मिक उद्धार कोष कार्यक्रम, लाटीकोइली र कटकुवा नगर अस्पतालको भवन निर्माण प्रक्रिया अघि बढाइने बजेटमा उल्लेख छ । स्वास्थ्य क्षेत्रका लागि नगरपालिकाले सात करोड ४६ लाख बजेट विनियोजन गरेको छ । 

गुर्भाकोट नगरपालिकाले ९५ करोड ५८ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । प्रस्तुत बजेटमा चालूतर्फ ६८ करोड नौ लाख ३३ हजार र पुँजीगततर्फ २६ करोड ९५ लाख रहेको छ । पञ्चपुरी नगरपालिकाले ८६ करोड २० लाख ४८ हजार ६५१ रुपियाँको बजेट ल्याएको छ । चालू आर्थिक वर्षबाट क्रमागत हुनसक्ने योजनाको भुक्तानीका लागि तीन करोड, समपूरक कोषको लागि एक करोड ६९ लाख ८० हजार, लागत साझेदारीका लागि तीन करोड बजेट विनियोजन गरिएको जनाइएको छ ।

वडास्तरीय योजना तथा कार्यक्रमका लागि प्रत्येक वडामा ४५ लाखका दरले चार करोड ९५ लाख, नगरस्तरीय योजनाका लागि तीन करोड ८३ लाख २७ हजार ६३२ रुपियाँ विनियोजन गरिएको जनाइएको छ । बजेटमा विपत् कोषका लागि २० लाख, शिक्षा स्वास्थ्य लगायत नगरपालिकाका सबै शाखाको चालू तथा प्रशासनिक खर्चतर्फ १३ करोड ७९ लाख ३५ हजार रकम विनियोजन गरिएको छ । 

लेकबेँसी नगरपालिकाले ७४ करोड ८७ लाख नौ हजार ५७ रुपियाँ बजेट ल्याएको छ । नगर उपप्रमुख विमला खड्लुकका अनुसार चालू खर्चतर्फ ४० करोड २५ लाख ४३ हजार ३६९ रुपियाँ र पुँजीगततर्फ २९ करोड ९७ लाख ८८ हजार १९२ रुपियाँ बजेट विनियोजन गरिएको छ । विकास साझेदार सङ्घसस्थाको कार्यक्रमतर्फ चार करोड ६३ लाख ७७ हजार ४९६ रुपियाँ विनियोजन गरिएको छ । नगरपालिकाले आर्थिक, श्रम तथा रोजगार, कृषि, पूर्वाधार, लैङ्गिक तथा सामाजिक समावेशीकरणको क्षेत्रलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । 

सडकहरूको स्तरोन्नति गरिने, सिँचाइ योजना, विद्युत् नपुगेको बस्तीमा विद्युत् पु-याइने, नगर बसपार्क निर्माण गरिने, योजना बैङ्क तथा मध्यकालीन खर्च संरचना गराइने, पँुजीगततर्फका योजनाको मर्मतका लागि मर्मतसम्भार कोष स्थापना गरिने, वन वातावरण तथा विपत् व्यवस्थापन, खानेपानी तथा सरसफाइ व्यवस्थापनलगायतका कार्यक्रम अघि सारेको छ ।  

भेरीगङ्गा नगरपालिकाले ६७ करोड पाँच लाख ८१ हजार ७७९ रुपियाँको बजेट ल्याएको छ । नगर उपप्रमुख धनसरा बोहोराका अनुसार बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिलाई प्राथमिकतामा राखिएको छ । वराहताल गाउँपालिकाले ६२ करोड ७१ लाख आठ हजार ६२३ रुपियाँको बजेट ल्याएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पुन मगरका अनुसार बजेटमा चालू खर्चतर्फ ३९ करोड ६४ लाख ५८ हजार ६२३ रुपियाँ र पुँजीगततर्फ २३ करोड छ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । सडक, शिक्षा, स्वास्थ्य, विद्युतीकरणलाई प्रमुख प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको जनाइएको छ । बजेटमा वडाका लागि पाँच करोड, विषयगत शाखालाई एक करोड ९३ लाख ५८ हजार ६२३ रुपियाँ र गाउँपालिका योजनाका लागि ५५ करोड ७७ लाख ५० हजार रुपियाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीले जानकारी दिनुभयो । 

चिङ्गाड गाउँपालिकाले ३९ करोड ३८ लाख ९६ हजार ८४० रुपियाँको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष मीनाकुमारी रोकायका अनुसार बजेटमा पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि तथा पशु र सहकारीलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । गाउँपालिकालाई आत्मनिर्भर बनाउन प्रतिफलयुक्त, बहुआयमिक उत्पादनका कार्यक्रम सञ्चालन गर्नेे, कृषि तथा पशु व्यवसायलाई मुख्य उत्पादन तथा रोजगारमूलक बनाई आर्थिक समृद्धिको मुख्य क्षेत्रका रूपमा विकास गर्ने र एक वडा एक उत्पादन क्षेत्र नीति तथा कार्यक्रममा जोड दिने नीति बजेटले लिएको जनाइएको छ ।सिम्ता गाउँपालिकाले ५९ करोड ३४ लाखको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष गोमा शर्मा (रेग्मी)का अनुसार बजेटमा चालूतर्फ २५ करोड दुई लाख २४ र पुँजीगततर्फ ३४ करोड ९३ लाख बजेट रहेको छ ।

पाँच पालिकामा तीन अर्बको बजेट 

मुसीकोट समाचारदाताका अनुसार  रुकुम पश्चिमका पाँच पालिकाले आर्थिक वर्ष २०७९/८० का लागि तीन अर्ब ४१ करोडको बजेट ल्याएका छन् । पाँच पालिकाको जम्मा बजेट तीन अर्ब ४१ करोड २० लाख ७० हजार ९७६ रुपियाँको रहेको छ । मुसीकोट नगरपालिकाले ८६ करोड ७२ लाख ७१ हजार ५२५ रुपियाँको बजेट ल्याएको छ ।

नगर उपप्रमुख विमलकुमार पुनका अनुसार चालूतर्फ ४८ करोड ५२ लाख ४४ हजार ५२५ रकम विनियोजन गरिएको छ । पुँजीगततर्फ ३८ करोड २० लाख २७ हजार रकम विनियोजन गरिएको छ । जिल्लाको चौरजहारी नगरपालिकाले ६६ करोड ९३ लाख १८ हजार ५७९ बराबरको बजेट ल्याएको छ । नगर उपप्रमुख ईश्वरी शर्मा बीएमका अनुसार चालूतर्फ ४० करोड ९५ हजार ५७९ र पुँजीगततर्फ २६ करोड ९२ लाख २३ रुपियाँ विनियोजन गरिएको छ ।

आठबिसकोट नगरपालिकाले ६७ करोडभन्दा बढीको बजेट प्रस्ताव गरेको छ । उपप्रमुख धनकुमारी शाहीका अनुसार ६७ करोड ६३ लाख २५ हजार ४५० रुपियाँ बजेट ल्याइएको छ । विनियोजन बजेटमध्ये चालूतर्फ ४४ करोड ३३ लाख २५ हजार ४५० र पुँजीगततर्फ २३ करोड २९ लाख ९९ हजार ९९८ रुपियाँ रहेको छ । सानीभेरी गाउँपालिकाले ७० करोडभन्दा बढीको बजेट प्रस्ताव गरेको छ । गाउँ सभामा गाउँपालिका उपाध्यक्ष कमला रोकाले आगामी वर्षका लागि ७० करोड ५५ लाख ९० हजार बराबरको बजेट प्रस्ताव गर्नुभएको हो ।  

त्रिवेणी गाउँपालिकाले ४९ करोड बढीको बजेट प्रस्ताव गरेको छ । गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले ४९ करोड ३५ लाख ६५ हजार ४२२ बराबरको बजेट गाउँ सभामा प्रस्तुत गर्नुभएको हो । कुल विनियोजित बजेटमध्ये चालूतर्फ ३६ करोड ८० लाख ६५ हजार ४२२ बजेट विनियोजन गरिएको छ भने पुँजीगततर्फ १२ करोड ५५ लाख बजेट विनियोजन गरिएको छ ।