पूर्वाधार विकासलाई मात्र विकास ठान्ने भाष्यले अल्पविकसित विकसित देश प्रभावित छन् । विकासको गोलाद्र्धमा राजनीतिक, सामाजिक, आर्थिक विकासको सवालसँगै पर्यावरण संरक्षणको मुद्दा पनि अग्रभागमा छ । राजनीतिक परिपक्वता र जवाफदेही नेतृत्वबिना विकासको प्रवाह जनमनमा पुग्दैन । प्रतिव्यक्ति आय र कुल गार्हस्थ उत्पादन वृद्धिले मात्र पनि विकास न्यायोचित हुँदैन । समग्रतामा अनुभूति हुने गरी मानव सक्रियताले ल्याएको रूपान्तरणले मात्र विकासको बुझाइ दिगो हुन्छ । सामाजिक न्यायको अनुभूति नभई विकासको रूपलाई बुझ्न सकिन्न । पहिचान र पहुँचले मात्र विकासका एजेन्डा सबल हुन्छ ।
पृथ्वीले धान्न सक्ने क्षमतामा मानिस समृद्ध र सुखी बन्ने अवधारणा बन्नुपर्ने हुन्छ । शान्ति र सुरक्षाको सवाल पनि रूपान्तरणका आधार हुन । पृथ्वीको सुरक्षाका लागि मान्नुपर्ने सिद्धान्त र मान्यताको सवालमा पनि साझा धारणा भए दिगो विकास लक्ष्य प्राप्त गर्न सकिन्छ । दिगो विकास लक्ष्यले १५ वर्षमा गर्ने १७ लक्ष्य निर्धारण ग¥यो । दिगो विकास लक्ष्यका आर्थिक, सामाजिक र वातावरणीय आयाममा विश्वव्यापी समृद्धिको सिर्जना, वितरण र दिगोपनाको कार्यसूची बनेको छ । दिगो विकास लक्ष्यको पिपुल, प्लानेट, पिस, प्रोस्परिटी र पार्टनरसिपभित्र १७ लक्ष्य समूहकृत गरिएको छ । ती लक्ष्यको मापन गर्न २३४ व्श्विव्यापी सूचक तोकिएको छ । दिगो विकास लक्ष्यको पिपुल समूहभित्र पाँच लक्ष्य रहेका छन् । मानव विकासको मार्गचित्रको रूपमा सुखी र सक्षम मानवका लागि विभिन्न क्रियाकलापको अवधारणा तय भएका छन् ।
दिगो विकास लक्ष्यको पहिलो मानवीय विकासको लक्ष्य सबै क्षेत्रमा रहेको सबै स्वरूपको गरिबीको अन्त्य गर्ने रहेको छ । विश्वमा दैनिक १.२५ डलरभन्दा कम आय हुने अति गरिबमा पर्ने उल्लेख छ । गरिबी निवारणमा चीनको प्रगति गर्व गर्नलायक भएको छोटो समयमा करिब १७ करोड मानिसलाई गरिबीको रेखामाथि लगेको छ । मानिसको जीवन जिउने अवसर र सक्रियता कम हुँदा गरिबी बढ्ने हो । पहिचान र पहुँचमा हुने अवरोधले पनि गरिबी निवारणमा समस्या छ । शान्ति सुरक्षाको गडबडीले पनि मानिस विस्थापित भई गरिब हुन्छन् । यी समस्याको समाधान गर्न शासकीय चातुर्यता र निजी क्षेत्रको साझेदारी प्रभावकारी भए गरिबी कम गर्न सकिन्छ । नेपालमा गरिबी निवारणका लागि समावेशी अवसर, गुणस्तरीय शिक्षा, उद्यमशीलता र व्यावसायिक वातावरण एवं नागरिकले रुचाएको समुन्नत राजनीतिक सोचको आवश्यकता छ । तथ्याङ्कको हिसाबले नेपालमा निरपेक्ष गरिबीको रेखामुनिको जनसङ्ख्या १८.७ प्रतिशत रहेका र बहुआयामिक गरिबी २८.६ प्रतिशत रहेको छ । ५० भन्दा बढी गरिब लक्षित कार्यक्रम दिगो लक्ष्य पूरा गर्न सञ्चालित छन् भने कार्यक्रमको प्रभावकारितामा प्रश्न छन् ।
भोकमरी अन्त्य गर्ने, खाद्य सुरक्षा र उन्नत पोषण प्राप्त गर्ने र दिगो कृषिको प्रवर्धन गर्ने दोस्रो मानव विकाससँग सम्बन्धित लक्ष्य रहेको छ । गरिबीले भोकमरीको समस्या ल्याएको हुन्छ । मानिसको अति आवश्यक वस्तु खाद्यान्न जीवन निर्वाहको महत्वपूर्ण आधार हो । मानिस स्वस्थ हुन पोषणयुक्त खाना खानु पर्छ । भोकमरीको अन्त्य, खाद्यान्न र पोषणयुक्त खानाका लागि उन्नत कृषि कर्म गर्नु पर्छ । अहिले जलवायु परिवर्तन, विश्व शान्तिको समस्या र कृषिकर्ममा मानिसको घट्दो आकर्षणले भोकमरी र खाद्य सुरक्षामा चुनौती देखिएको छ । मानव विकासमा देखिएको यो चुनौतीले गरिब राष्ट्र बढी प्रभावित छन् । नेपालमा जलवायु परिवर्तनको असर, कृषि कर्ममा गिर्दो आकर्षण र कृषि उत्पादनका लागि उपयुक्त पूर्वाधारको विकास जस्ता कारणले कृषिमा आत्मनिर्भरभन्दा परनिर्भर हुन लागेको अवस्था छ । कृषिमा अवसर हुँदाहुँदै पनि प्रतिवर्ष खाद्यान्न आयात बढ्दो छ । विश्वमा सङ्कट आए खाद्य अभावले विकराल अवस्था आउन नदिन तथा स्वस्थ जीवन जीउन आवश्यक पर्ने खाद्यान्नमा आत्मनिर्भर हुन कृषि उद्यमशीलतामा ध्यान जान आवश्यक छ । उन्नत कृषि उत्पादन र पशुपालनमा सरकारले समग्र नीति र कार्यशैलीमा सुधार गरी भोकमरी, खाद्य सुरक्षा र पोषण प्राप्त गर्ने आधार बनाई दिगो लक्ष्य पूरा गर्न सकिन्छ ।
सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ जीवनको सुनिश्चितता गर्दै समृद्ध जीवनस्तर प्रवर्धन गर्ने तेस्रो मानव विकाससँग सम्बन्धित लक्ष्य लिइएको छ । स्वास्थ्यका क्षेत्रमा रहेका समस्या कम गर्ने उद्देश्यले मातृमृत्युदर तथा बालमृत्युदर घटाउने, एड्स मलेरिया टिभी जस्ता सर्ने रोगको नियन्त्रण गर्ने र नसर्ने रोगको न्यूनीकरण गर्ने लक्ष्य रहेका छन् । लागुऔषधविरुद्ध सचेतता बढाउने, सडक दुर्घटना रोक्ने, खोपको सुनिश्चितता र परिवार नियोजनका कार्यक्रम प्रभावकारी बनाउने एवं स्वास्थ्य सेवामा सबैको पहुँच बढाउने विषयहरू लक्ष्यका क्रियाकलापमा समेटिएका छन् । नेपालले मातृमृत्यु दर कम गर्ने जस्ता विषयमा प्रगति गरेको छ । नसर्ने रोगको नियन्त्रण, लागुऔषध तथा अन्य नशालु पदार्थको सेवन, सडक दुर्घटना नियन्त्रण जस्ता विषयमा अपेक्षित प्रगति हुन सकेको छैन । दिगो विकास लक्ष्यमा स्वास्थ्यका केही क्षेत्रमा प्रगति हुने देखिए पनि लगानी बढाइ अरू लक्ष्य प्राप्त गर्न सकिन्छ ।
सबैका लागि समावेशी तथा समतामूलक गुणात्मक शिक्षा सुनिश्चितता गर्दै सबैका लागि जीवनपर्यन्त सिकाइका अवसर प्रवर्धन गर्ने चौथो मानव विकाससँग सम्बन्धित लक्ष्य हो । शिक्षाबिना कुनै विकासका पूर्वाधार हुन सक्दैन । शिक्षाप्राप्त गर्ने नैसर्गिक अधिकार पनि हो । शिक्षाले जीवनस्तरको दिशानिर्देश गर्छ । सक्षमताका लागि नवीन सोचको सिकाइ अनिवार्य हो । सबैले शिक्षा प्राप्त गर्ने अवसरले सबै वर्ग समुदायका लागि शिक्षा र सिकाइका अवसरले मात्र समुन्नत जीवन जिउने आधार बन्छ । जीविको पार्जन र व्यावसायिक जीवन जिउने आधार बनाउन मानव विकासको जग बलियो बन्नु पर्छ । नयाँ प्रवर्तन र प्रविधिको सिप नभई विश्वव्यापी रूपमा सक्षमता हासिल गर्न सकिन्न । वर्ग विशेषका क्षमता हेरी शिक्षा र सिपका लागि लगानी बढाउनु दिगो विकास लक्ष्य हासिल गर्ने आधार हो । नेपालले गुणात्मक शिक्षाका लागि लगानी बढाएको छ । सबैका लागि शिक्षा भन्ने अभियानलाई जोड दिँदै माध्यमिक तहसम्म निःशुल्क शिक्षामा जोड दिएको छ । प्राविधिक शिक्षामार्फत सिप विकासका लागि विभिन्न पहल भएका छन् । उच्च शिक्षाका विभिन्न अवसर बढेका छन् । शिक्षा जीवन उपयोगी भएन र शिक्षा प्रणालीमा विश्वासको क्षयीकरण हुँदै गएको आरोप छ । समग्रतामा गुणात्मक शिक्षाका लागि सुधारसँगै लगानी बढाउन सके लक्ष्य प्राप्त गर्न सकिन्छ ।
लैङ्गिक समानता हासिल गर्न र सबै महिला, किशोरी र बालिकाको सशक्तीकरण गर्ने मानव विकाससँग सम्बन्धित पाँचौँ लक्ष्य हो । लैङ्गिक असमानताले विकासमा बाधा देखियो । महिलाको भूमिका गौण हुँदा समग्र उपलब्धि फलदायी बन्न सकेनन् । महिलाको हितमा ध्यान नदिँदा बालिका र किशोरी समान अवसरको लाभग्राही हुन सकेनन् । समग्रमा मानव विकासको एउटा पक्ष शोषित पीडित हुन पुगेपछि रूपान्तरणका आधारहरू कमजोर देखिए । दिगो विकास लक्ष्यमा लैङ्गिक समानता र सशक्तीकरणका लक्ष्य निर्धारण भयो । नेपालले लैङ्गिक समानता र सशक्तीकरणका लागि नीतिगत सुधारसँगै
अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ । बालिका र किशोरीको शिक्षाका लागि विभिन्न अवसर दिइएको छ । महिलाको सशक्तीकरणका लागि जीविकोपार्जन र व्यावसायिक सिपका अवसर प्रवाह गरिएको छ । राज्यका विभिन्न तहमा समावेशिताले सबैको प्रतिनिधित्व हुने वातावरण बनेको छ । महिला हिंसा, बलात्कार र मानव बेचबिखनका घटनामा बढोत्तरी मुख्य समस्याका रूपमा देखिएका छन् । प्रस्तुत लक्ष्य पूरा गर्न नीतिगत सुधारसँगै समाजिक न्यायको पक्षपोषण र सशक्तीकरणका लागि लगानी बढाउन सके लक्ष्य प्राप्त गर्न सकिन्छ ।
दिगो विकासका १७ वटै लक्ष्य समग्र मानव विकाससँग सम्बन्धित छन् । लक्ष्य प्राप्त गर्न असल शासनको अनुभूति र नागरिक सक्रियतामा ध्यान दिन आवश्यक देखिन्छ । धनी देशका धेरै लक्ष्य प्राप्त भइसकेका भए पनि गरिब राष्ट्रको दिगो विकासका लागि साझेदार हुने र लक्ष्य प्राप्त गर्न सहयोग गर्ने दायित्व लिनुपर्ने दबाब छ । मानव विकाससँग सम्बन्धित पिपुल समूहमा मानवको कल्याणसँगै सबल र सक्षम जीवन बनाउने आधारलाई जोड दिइएको छ । प्रस्तुत लक्ष्यका लागि लगानी गर्ने, मानव विकासका अवरोध हटाउने, आधारभूत आवश्यकताको गुणस्तरीय परिपूर्ति र कार्य सफलताका लागि मार्गचित्रसँगै कार्यान्वयन प्रतिबद्धताले मात्र दिगो लक्ष्य पूरा हुन सक्छ ।