• २० असार २०८१, बिहिबार

जोखिम मोलेर कान्द्रा नदीमा स्थानीयको ओहोरदोहोर

blog

शनिबार कान्द्रा नदीमा बाढी आएपछि डुङ्गामार्फत नदी तर्दै स्थानीय । तस्बिर : भोज मन्नी

अविनाश चौधरी

धनगढी, असार ११ गते । कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा जोखिम मोलेर स्थानीयहरु ओहोरदोहोर गर्न बाध्य छन् । शनिबार नदीमा बाढी आएपछि जोखिम मोलेर नदी वारपार गर्नुपर्ने दुःखको दिन सुरु भएको स्थानीयले बताएका हुन् । 

सो नदीमा निर्माणाधीन पुल ११ वर्ष हुँदासम्म बनेको छैन । पुल निर्माण कार्य पूरा नभएपछि जनताको दुःखका दिन फेरि सुरु भएको उहाँहरुको बुझाई छ । वर्षायामभरी जीउज्यान दाउमा लगाएर डुङ्गामार्फत नदी तर्दै आएकोस्थानीय खोजराम चौधरीले बताउनुभयो ।  

नदीमा बाढी आएपछि डुङ्गामार्फत ओहोरदोहोर सुरु भएको भजनी नगरपालिका –५ लालबोझीका खोजराम चौधरीले बताउनुभयो । उहाँले अब वर्षायामभरी यसरी नै ओहोरदोहोर हुने पीडा सुनाउनुभयो ।  

भजनी नगरपालिका –३ स्थित कान्द्रा नदीमा निर्माणाधीन पुलको निर्माण कम्पनीसँग ठेक्का सम्झौता तोड्ने तयारी भएको बताइएको छ । अढाई वर्ष निर्माण समायवधि रहेको पुल ११ वर्षसम्म पनि नबनेपछि हुलाकी राजमार्ग आयोजनाको कार्यालयले निर्माण कम्पनीसँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । पटक–पटक म्याद थप गर्दा पनि पुल अधुरै छ । 

२०६८ जेठ २१ गते उक्त पुलको ठेक्का भएको थियो । साल्पा–शेर्पा–लामा–विरुवा कम्पनीले संयुक्त रुपमा ठेक्का पाएका थिए । जसमध्ये साल्पा–शेर्पा (हाल परिवर्तित नाम हिमाली जेभी) ले काम गर्दैआएको थियो । तर कम्पनीले तदारुकताकासाथ निर्माणको काम नगर्दा चार पटकसम्म म्याद थप गर्दा पनि निर्माण कार्य पूरा हुन सकेन । 

चौथो पटक थप भएको म्याद गत चैत मसान्तमा सकिएको थियो । सय मिटर लामो सो पुलको लागत रकम  चार करोड ४३ लाख रुपियाँ रहेको छ ।