• ११ भदौ २०८२, बुधबार

ढोलठाना क्षेत्र व्यवस्थित बनाइँदै

blog

ढोलठानाबाट देखिने प्राकृतिक दृश्य । तस्बिर : ठाकुरप्रसाद आचार्य

बेनी समाचारदाता 

म्याग्दी (बेनी), भदौ ११ गते । म्याग्दीको बेनी नगरपालिकास्थित पर्वत राज्यको पुरानो राजधानी ढोलठाना दरबार क्षेत्र प्राकृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । बेनीको शिरमा रहेको ठोलठानामा विक्रम संवत १६३१ देखि १८४३ सम्म पर्वत राज्यको राजधानी रहेको इतिहास छ । बाइसेचौबिसे राज्यका पालामा पर्वत राज्यलाई शक्तिशाली राज्यका रूपमा लिने गरिन्थ्यो ।  

 बेनी नगरपालिकाले ढोलठानालाई ऐतिहासिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले संरक्षण र पर्यटन पूर्वाधार निर्माणमा जुटेको छ । ढोलठाना दरबारको संरक्षण र पूर्वाधार निर्माण गरी पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले पाँच करोड रुपियाँ लागत अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन बनाई प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरिएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्रबहादुर केसीले बताउनुभयो । 

 ढोलठानाको अवलोकन र भ्रमणमा पुगेका पर्यटकको सहजताका लागि गत वर्ष भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत १०/१० लाख गरेर २० लाख रुपियाँको बजेटमा पूर्वाधार निर्माण गरिएको छ । पुरानो दरबार रहेको ठाउँमा मौलिक सिप, कला र स्रोतसाधनको प्रयोग गरेर विश्राम तथा दृश्यावलोकन स्थल, पदमार्ग र प्रवेशद्वार निर्माण गरिएको छ । दरबार प्रवेश गर्नका लागि ढुङ्गाको प्रयोग गरेर मौलिक सिपबाट आकर्षक किसिमको प्रवेशद्वार निर्माण गरिएको छ । 

 पर्वत राज्य नेपालमा विलय भएको विसं १८४३ सम्म ढोलठानामा सो राज्यको राजधानीका रूपमा रहेका तथ्य फेला परेको स्थानीयवासी भेषबहादुर सेनले बताउनुभयो । तत्कालीन दरबार निर्माणमा प्रयोग भएका काठ, चट्नी, नुन पिस्ने सिलौटो, झिँगटी, घरका पिल्लर र इँटा सानो हुँदा आफूले देखेको उहाँको भनाइ छ । दरबारमा प्रयोग भएका झ्यालढोकालगायतका सामग्री अहिले पनि गाउँमा भेटिने गरेको उहाँले बताउनुभयो । ऐतिहासिक स्थल भए पनि विगतमा उचित ध्यान दिन नसक्दा दरबारमा प्रयोग भएका सामग्रीको संरक्षण नभएको सेनले बताउनुभयो ।   

ढोलठानाबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरिलगायत दर्जनौँ हिमाल, सूर्योदयको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । कालीगण्डकी, म्याग्दी नदी र पर्वत, बागलुङका रमणीय भूभाग अवलोकन गर्न सकिन्छ । बेनीदेखि ढोलठानासम्मको सडक स्तरोन्नति गरी आवतजावतलाई सहज बनाउन नगरपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । 

 पुराना अभिलेख तथा चिनारीको संरक्षण गरेर राख्न सङ्ग्रहालय बनाउने योजना रहेको उहाँले बताउनुभयो । तत्कालीन राजा बम मल्लको समयमा विसं १६३१ देखि राजा हिउँदका चार महिना बेनी र अरू आठ महिना ढोलठानामा बसेर तत्कालीन पर्वत राज्य सञ्चालन गरेको इतिहास भएकाले संरक्षण गरेर पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्य रहेको नगर प्रमुख केसीले बताउनुभयो । ढोलठानालाई पर्यटकीय स्थलका रूपमा विकास गर्न पछिल्ला केही वर्षयता पूर्वाधार निर्माणका काम भइरहेका छन् । नगरपालिकाले गलेश्वरदेखि घतान हुँदै ढोलठाना जोड्ने पदमार्ग बनाउने योजना अघि सारेको नगर प्रमुख केसीको भनाइ छ ।