गुलरिया समाचारदाता
गुलरिया (बर्दिया), भदौ ११ गते । बर्दिया जिल्लामा स्वास्थ्य बिमा गर्ने घरपरिवारमध्ये आधाभन्दा बढीले बिमा नवीकरण नगरेको तथ्याङ्क सार्वजनिक भएको छ । स्वास्थ्य बिमा बोर्ड बर्दियाका अनुसार निःशुल्क बिमाबाहेक पैसा तिरेर बिमा गर्ने १६ हजार ७०३ घर परिवारमध्ये केवल आठ हजार ६९९ घरपरिवारले मात्र नवीकरण गरेका छन् ।
कम बिरामी हुने वा स्वास्थ्य बिमाको तत्काल आवश्यकता नपरेका घरपरिवारले बिमा नगर्ने वा समयमा नवीकरण नगर्ने प्रवृत्ति देखिएको छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार बर्दियामा एक लाख छ हजार २८५ घरधुरी छन् । तीमध्ये निःशुल्क बिमा सुविधाबाहेक केवल १५ प्रतिशत घरपरिवारले मात्र स्वास्थ्य बिमा गरेका छन् । बर्दियामा बिमा गर्नेमा सबैभन्दा धेरै ज्येष्ठ नागरिक छन् । कुल ३९ हजार ४९४ घरपरिवारमध्ये २९ हजार ३२५ ज्येष्ठ नागरिक छन् । तिनको बिमा स्वतः नवीकरण हुन्छ । बोर्डका जिल्ला संयोजक डिकेन्द्रबहादुर विष्टले त्यसबाहेक एचआइभी सङ्क्रमित १६६ जना, कुष्ठरोगी १९ जना, अति अशक्त अपाङ्गता भएका एक १९१ जना र चार जना जटिल क्षयरोगीले निःशुल्क बिमा सुविधा लिएका जानकारी दिनुभयो ।
त्यसै गरी ५० प्रतिशत छुट पाउने महिला स्वास्थ्य स्वयं सेविकामध्ये पनि ५५ प्रतिशतले मात्र बिमा गरेका छन् । जिल्लामा रहेका ८३७ स्वयं सेविकामध्ये ४६१ जनाले मात्र स्वास्थ्य बिमा गरेका छन् । विष्टका अनुसार नवीकरण स्वतः हुने ज्येष्ठ नागरिकका कारण कागजमा बीमित घरपरिवारको सङ्ख्या धेरै देखिए पनि सक्रिय रूपमा बिमा गर्ने परिवार न्यून छ । उहाँले बिमा नगर्ने प्रवृत्तिलाई गम्भीर समस्या भन्दै नीति बनाउने र कार्यान्वयन गर्ने तहमा रहेका जनप्रतिनिधि, कर्मचारी, शिक्षक र समाजसेवीले समेत स्वास्थ्य बिमा नगरेको तथ्यलाई चिन्ताजनक बताउनुभयो ।