अजय शाह
गौशाला(महोत्तरी), भदौ ११ गते । बर्दिबासमा सारीलाई बालविवाहविरुद्ध सन्देशले भरिएको शक्तिशाली क्यानभासमा परिणत गर्दै जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
शिफ्ट अभियानअन्तर्गत युवा अभियन्ताहरुले एक सार्वजनिक तीज उत्सव स्थलमा आयोजित अभियानमा तीज कार्यक्रममा सहभागी व्यक्ति एवम् समुदायका अन्य सदस्यहरूले यस अभियानलाई साथ दिँदै ६ गज लामो सारीमा आफ्ना सन्देशहरू लेखेर अभियानमा सहभागिता जनाउनुभएको छ ।
अभियान बर्दिबासस्थित युवा अभियन्ताहरूको समूह युथ फर चेन्ज ले सेभ द चिल्ड्रेनको सहयोगमा मङ्गलबार सञ्चालन गरेका हुन् ।
अभियानले मधेश प्रदेशमा बालविवाह अन्त्य गर्नका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएको छ । सेभ द चिल्ड्रेनद्वारा सञ्चालित शिफ्ट अभियानले युवाहरूलाई सामाजिक वा वातावरणीय परिवर्तनका लागि सार्वजनिक अभियान डिजाइन र सञ्चालन गर्न सहयोग गर्दछ ।
अभियानको आरम्भ गर्दै मधेश प्रदेशसभा सदस्य एवम् बालधिकारका लागि संसदीय मञ्च, मधेशका संयोजक माननीय शारदा थापाले भन्नुभयो, “बालविवाहले बालबालिकाको स्वास्थ्य, शिक्षासँगै सम्बन्धमा समेत गम्भीर असर पुर्याउँछ । बालविवाह एक सामाजिक मात्र नभई कानुनी अपराध पनि हो । त्यसैले बालविवाहविरुद्धको अभियानमा सबैले सहभागी हुन आवश्यक छ ।”
उहाँले युवाहरू आफ्नै पहलाम बालविवाहविरुद्ध अभियान शुरु गरेकोमा त्यसको प्रशंसा गर्दै बालविवाह अन्त्यको अभियानमा मधेश प्रदेश सरकारको सधैँ साथ रहने प्रतिबद्धता जनाउनुभयो ।
“यस सारीका सन्देशमा हाम्रा कथा, सङ्घर्ष र माग झल्किन्छन् । हाम्रो समुदायमा धेरैले खुलेर भन्न नसकेको कुरा यहाँ भनिएको छ : बालविवाह संस्कार होइन, अन्याय हो । कपडामा लेखिएका यी सन्देशहरूमार्फत हामी भन्न खोजिरहेका छौं कि छोरीहरूका सपना छन्, जसलाई जोगाउनु आवश्यक छ । हामी तबसम्म रोकिँदैनौं जबसम्म हरेक बालबालिकाले आफ्ना सपना जोगाउने स्वतन्त्रता प्राप्त नगरून्जेल हामी रोकिँदैनौँ” बर्दिबासस्थित युथ फर चेन्जकी युवा अभियन्ता प्रतिमाले भन्नुभयो ।
अभियानमा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद क्षेत्री, उपप्रमुख तारा देवी, बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णुबहादुर खड्का, साथै बालअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधिहरू र स्थानीय समुदायका सदस्यहरूको समेत उल्लेख्य उपस्थिति थियो । अभियानमा सहभागी सबैले बालविवाहविरुद्ध ऐक्यबद्धता व्यक्त गर्नुभयो ।
विसं २०७८ को राष्ट्रिय जनगणनाले १० देखि १७ वर्ष उमेर समूहका ७४ हजार दुई सय ७२ बालबालिकाको विवाह भइसकेको देखाएको छ । जसमध्ये १६ हजार तीन सय ४७ बालविवाहका घटना मधेश प्रदेशका देखिएको छ, जुन राष्ट्रिय कुलको पाँच भागको एकभन्दा धेरै हो । यो अवस्था गम्भीर छ ।
मधेशमा ४२.४ प्रतिशत महिलाहरू १८ वर्षभन्दा अघि नै विवाह गर्छन्, जबकि राष्ट्रिय औसत ३३ प्रतिशत मात्र छ । महोत्तरीमा यो दर ४३.३ प्रतिशत पुगेको छ । तथ्याङ्कअनुसार मधेशमा हरेक पाँचमध्ये एक किशोरीले किशोरावस्थामै गर्भधारण गर्ने गरेको तथ्याङ्कले देखाएको छ ।