• ११ भदौ २०८२, बुधबार

भारतीय केराकै भर

blog

घोराही समाचारदाता

घोराही, भदौ ११ गते । तिजको समयमा महिला व्रत बस्ने र फलफूल खाने भएपछि दाङमा केराको माग बढेको छ तर जिल्लामा पर्याप्त केरा उत्पादन नहुँदा व्यवसायीलाई पु¥याउन समस्या भएको छ । यो अवस्थामा चाडपर्वमा भारतीय केराको भर पर्नुपर्ने बाध्यता रहेको व्यवसायी भरत विक बताउनुहुन्छ । अन्य समयमा जिल्लाकै उत्पादनले बजार धान्ने गरे पनि चाडपर्वको समयमा भारतबाट मगाउनैपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । 

घोराही उपमहानगरपालिका–१५ स्थित भरत फलफूल पसलका सञ्चालकसमेत रहनुभएका विकले अन्य समयको तुलनामा तिजमा धेरै केरा खपत हुने भएका कारण भारतबाट मगाउनुपर्ने बाध्यता भएको बताउनुभयो । अहिलेको अवस्थामा जिल्लाको उत्पादनले करिब आधा तीन/चार महिना धान्ने गरेको भन्दै उहाँले चाडपर्वको समयमा पु¥याउ नै नसक्ने अवस्था रहेको बताउनुभयो । 

तिजलाई ध्यानमा राखेर आफूले एक सय मेट्रिक टन केरा मगाएको भन्दै व्यवसायीले करिब ५० प्रतिशत केरा भारतबाटै आएको बताएका छन् । विकका अनुसार चाडपर्वको समयमा दैनिक ७० देखि ८० क्विन्टल भारतबाटै आइरहेको छ । 

जिल्लाबाहिरबाट केरा आयात हुने गरे पनि चाडपर्वको समयमा त्यो पर्याप्त नहुने भन्दै उहाँले भन्नुभयो, “टीकापुर, चितवन, नवलपरासीलगायतका जिल्लाबाट केरा आउने गरेको भए पनि चाडपर्वमा पर्याप्त हुँदैन ।” फलफुल व्यवसायी समिति घोराहीका निवर्तमान अध्यक्षसमेत रहनुभएका व्यवसायी विकका अनुसार चाडपर्वको समयमा घोराहीमा दैनिक करिब ४८ मेट्रिक टन केरा खपत हुने गरेको छ । अहिले नेपाली केरा थोकमा ६० देखि ६५ रुपियाँ दर्जन र भारतीय ७० देखि ८० रुपियाँ दर्जन रहेको छ । 

दाङमा केरा बढी मात्रामा देउखुरी क्षेत्रमा उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा ७३० हेक्टर जमिनमा व्यावसायिक केरा खेती हुने गरेको छ । जसमा नौ हजार ९७३ मेट्रिक टन उत्पादन हुने गरेको छ । आव २०८०/८१ मा ६७० हेक्टरमा केरा खेती हुने गरेको थियो ।  

कार्यालय प्रमुख भण्डारीले जिल्लामा भएको उत्पादनले बजारको ७० प्रतिशत माग धान्ने गरे पनि चाडपर्वमा बाहिरबाट आउने केराकै भर पर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । दाङमा लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, घोराही उपमहानगरपालिका, शान्तिनगर नगरपालिका र तुलसीपुर उपमहानगरपालिका अन्तर्गत विभिन्न ठाउँमा व्यावसायिक केरा खेती हुने गरेको छ ।