सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, भदौ ११ गते । भोटेकोशी–१ जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको (ब्रेक थ्रु) छ । आगामी फागुनभित्र ४४ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।
दुई किलोमिटर ६३८ मिटर लम्बाइ, ५.२ मिटर उचाइ र ५.२ मिटर चौडाइ रहेको सुरुङको जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ र भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनृपु शेर्पाले संयुक्त रूपमा ब्रेक थ्रु गर्नुभयो । आयोजनाले २०८० फागुनदेखि सुरुङ निर्माण सुरु गरेको थियो ।
प्रवर्धक इलेक्ट्रोपावर कम्पनी लिमिटेड, निजी क्षेत्रलगायतको लगानीमा निर्माणाधीन भोटेकोशी–१ को सुरुङ निर्माण गरिरहेको भूगोल इन्फास्ट्रक्चर कम्पनीले सुरुङको फिनिसिङ छ महिनादेखि आठ महिनासम्ममा पूरा गर्ने जनाइएको छ ।
सुरुङसँगै आयोजनाका काम ८० प्रतिशत निर्माण सम्पन्न भएको प्रवर्धक इलेक्ट्रोपार कम्पनीका अध्यक्ष मोहनविक्रम कार्कीले जानकारी दिनुभयो । भोटेकोशी गाउँपालिका–३ र ४ मा बाँध र सोही गापाको ५ चाकुमा विद्युत् गृह निर्माण भइरहेको छ ।
नौ अर्ब ५६ करोड रुपियाँको लागतमा उक्त आयोजना निर्माण भइरहेको छ । सो आयोजनाका सबै लगानीकर्ता नेपाली छन् । आयोजनाले आगामी सात महिनाभित्र उत्पादन गरेको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने तयारी रहेको अध्यक्ष कार्कीले बताउनुभयो । उक्त आयोजनाबाट राष्ट्रिय ग्रिडमा थप विद्युत् आपूर्ति हुने भएकाले ऊर्जा सुरक्षामा टेवा पुग्ने छ ।