गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ११ गते । प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध हुनुभएको छ । सभापति चयनका लागि प्रतिनिधि सभा सचिवालयले तोकेको समयभित्र न्यौपानेको एकल मनोनयन दर्ता भएको छ । प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार एकल मनोनयनसँगै प्रस्तावित उम्मेदवार निर्विरोध निर्वाचित हुने छ । निर्वाचित भएको औपचारिक घोषणा भने बुधबार दिउँसो ३ बजे बस्ने समितिको बैठकबाट हुने छ ।
सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) बाट राजीनामा गराएर कांग्रेसले न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । न्यौपानेले मङ्गलबार नै सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिनुभएको थियो । राजीनामा पत्र बुझाएलगत्तै विषयगत समिति सभापतिमा मनोनयन दर्ता गर्नुभएको हो । प्रतिनिधि सभाका सचिव हर्कराज राईले जारी गर्नुभएको उम्मेदवारको अन्तिम नामावलीमा न्यौपानेको एकल मनोनयन समावेश छ । न्यौपानेको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका रामहरि खतिवडा र समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ हुनुहुन्छ । २७ सदस्यीय राज्य व्यवस्थामा कांग्रेस एमालेको बहुमत छ ।
खतिवडा समितिका निवर्तमान सभापति हुनुहुन्छ । निजामती सेवा विधेयकको प्रतिवेदन लेखनमा गम्भीर त्रुटि भएको र त्यसमा जिम्मेवारमध्ये एक सभापति भएको संसदीय छानबिनको ठहरपछि खतिवडाले राजीनामा दिनुभएको थियो । राजीनामापछि सभापति चयन प्रक्रिया अघि बढाइएको थियो । सभापति पद रिक्त भएको १५ दिनभित्र निर्वाचन प्रक्रिया सम्पन्न गर्नुपर्ने नियमावलीको दबाबबिच अन्तिम समयमा प्रक्रिया अघि बढाइएको थियो । उक्त समयसीमा बुधबार सकिँदै छ ।
सत्तारूढ गठबन्धनबाट सभापतिमा एकल मनोनयनमा पर्नुभएकी न्यौपाने कांग्रेसको समानुपातिक सदस्य हुनुहुन्छ । उहाँ २०६४ र २०७० मा संविधान सभा सदस्य हुनुहुन्थ्यो । दुवै पटक उहाँले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व गर्नुभएको थियो । सङ्घीय संरचनामा पहिलो पटक भएको प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा कैलाली १ बाट न्यौपाने पराजित हुनुभएको थियो । न्यौपाने २०७९ माघ ५ मा भएका सभामुख निर्वाचनमा समेत प्रत्यासी हुनुहुन्थ्यो तर सभामुखमा नेकपा (एमाले) का देवराज घिमिरे निर्वाचित हुनुभएको थियो । घिमिरे एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा सभामुख निर्वाचित हुनुभएको थियो । कांग्रेस उम्मेदवार न्यौपानेलाई नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेको थियो ।