• १० भदौ २०८२, मङ्गलबार

‘खोज र नष्ट गर’ अभियान

blog

लामखुट्टेका लार्भा ‘खोज र नष्ट गर’ अभियानका सहभागी ।

बागलुङ समाचारदाता 

बागलुङ, भदौ १० गते । बागलुङको बरेङ बजारमा डेङ्गु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । बजार क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै जान थालेपछि नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको हो ।

बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोट र वडा नं. २, हुग्दिशिरको सङ्गमस्थल बरेङ बजारमा फेयरमेड फाउन्डेसन, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको आयोजना र हुग्दिशिर स्वास्थ्य चौकीको सहकार्यमा अभियान चलाइएको हो । अभियान अन्तर्गत बरेङ बजारमा सरसफाइ गरिएको नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका सामाजिक परिचालक डोलमाया थापाले जानकारी दिनुभयो ।

हुग्दिशिर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र सर्वसाधारणको सहभागितामा बजार सरसफाइ गरिएको हो । गत वर्षभन्दा यो वर्ष सङ्ख्यात्मक रूपमा डेङ्गु सङ्क्रमितको सङ्ख्या कम देखिए पनि जोखिम भदौ र असोज महिनासम्म हुने भएकाले ‘खोज र नष्ट गर’ अभियान चलाइएको थापाले बताउनुभयो ।

बरेङका विभिन्न क्षेत्रमा लामखुट्टेले अन्डा पार्न सक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न अभियान चलाइएको छ । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन निरन्तर सरसफाइका लागि समुदायमा जनचेतना फैलाउने कामसमेत गरिएको थापाले जानकारी दिनुभयो ।

विशेष गरी वर्षाको पानी जम्ने बोतल, टिनका भाँडा, थोत्रा टायर, अलकत्रा वा मटितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्कीमा लामखुट्टेले फूल पार्छ । विशेष गरी साँझ–बिहानको समयमा सक्रिय हुने एडिज जातको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्छ । 

उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने डेङ्गुका लक्षण हुन् । जटिल प्रकृतिको डेङ्गुको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बान्ता भइरहने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिने लक्षण देखा पर्छन् ।