मुसीकोट समाचारदाता
रुकुमपश्चिम, भदौ १० गते । रुकुमपश्चिममा रहेको जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी छन् । भौतिक पूर्वाधार अभावमा क्षमता अनुकूलको व्यवस्थापन नहुँदा कैदीबन्दीलाई आधारभूत आवश्यकता उपयोगमा समस्या भइरहेको छ ।
रुकुम कारागारमा क्षमताका हिसाबले २५ जनाको छ । २० पुरुष र पाँच महिलाको क्षमता रहेको यस कारागारमा अहिले १५४ जना कैदीबन्दी कोचिनु परेको छ । कारागारको भौतिक संरचनाले भने १४५ पुरुष, आठ महिला र एक नाबालक गरी १५४ जनाको भार थेगिरहेको छ । कारागार कार्यालयका प्रमुख केशव ओलीका अनुसार क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनसँगै सुरक्षाको समेत चुनौती देखिन्छ । बाहिरी सुरक्षाव्यवस्था बलियो पारिए पनि क्षमताभन्दा बढी कैदीको आन्तरिक व्यवस्थापनमा कारागार कार्यालयलाई समस्या परिरहेको छ ।
कैदीलाई सुत्न ठाउँको अभाव छ । उनीहरू कुनै कोठामा पालोपालो गरेर त कुनै कोठामा लस्करै लाइन लागेर सुत्ने गरेका छन् । कोल्टे फेर्नसमेत नमिल्ने गरी कोचाकोच गरेर सुत्नुपर्ने अवस्था छ । कार्यालय प्रमुख ओलीले शौचालयको प्रयोग, खेलमैदान र खेल सामाग्रीको पनि समस्या रहेको जनाउनुभयो । यसअघि खानेपानीको समेत समस्या भइरहेको यस कारागारमा हाल खानेपानीको समस्या भने हटेको छ । कैदीबन्दीलाई सिपमूलक काम गर्न, तालिम सञ्चालन गर्न र खेल्नका लागि ठाउँ छैन । २०४२ सालमा निर्माण गरिएको कारागारका दुई वटा, छकोठे भवन अहिले जीर्ण बनेका छन् । जीर्ण भौतिक संरचनामा क्षमताभन्दा बढी कैदीबन्दीलाई व्यवस्थापन गर्नुपर्दा चुनौती बढेको कारागार प्रशासनले जनाएको छ ।
कारागार अहिले दुई जिल्लाका लागि प्रयोग हुने गरेको छ । रुकुमपूर्वमा कारागार स्थापना नहुँदा मुसीकोटस्थित यो कारागार दुवै जिल्लाका लागि प्रयोग हुँदै आएको छ । २०७४ असोज १९ बाट विधिवत् रूपमा छुट्टै जिल्लाका रूपमा काम सुरु गरेको रुकुमपूर्वमा हालसम्म जिल्ला कारागार सञ्चालन भएको छैन । कारागार कार्यालयले अब भने मुसीकोटमा नयाँ कारागार भवन निर्माण प्रव्रिmया सुरु भएको जनाएको छ । आवश्यक बजेट व्यवस्थापन भएपछि भवनका लागि जग्गा छनोट, डिपिआरलगायतका काम भइरहेको कारागार प्रमुख ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ भवन अत्याधुनिक बन्ने छ ।