बेलौरी समाचारदाता
कञ्चनपुर, भदौ १० गते । कञ्चनपुरमा छाउगोठ भत्काउन महिला सक्रिय भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नौ वटै पालिकामा छाउगोठ भत्काउन आग्रह गरेपछि यहाँका महिला छाउगोठ भत्काउन सक्रिय भएका हुन् । रजस्वला भएका बेला बर्सौंदेखि छुट्टै छाउगोठ बनाएर बस्दै आएकी वेदकोट नगरपालिका–१०, चतहरीका अन्दाजी ५५ वर्षीय कलाशा चुनाराले छाउगोठ कुप्रथा भएकाले यसलाई हटाउनुपर्ने बताउनुभयो । यसअघि छाउगोठमै बस्दै आएकी उहाँले अब आफू रजस्वलाका बेला पनि घरमै बस्ने बताउनुभयो । “रजस्वला भएका बेला छुट्टै नबसे देवीदेवता रिसाउने अन्धविश्वासका कारण छाउगोठ नै बनाएर अलग्गै बस्दै आएका थियौँ,” उहाँले भन्नुभयो, “यो त महिलामा गर्भधारणको प्रक्रिया भएकाले छुट्टै गोठ बनाउन जरुरी नभएको बुझेपछि छाउगोठ भत्काउने अभियानमा लागेको छु ।”
बिहीबार छाउगोठ भत्काउँदै सोही ठाउँका मिस्रा चुनाराले बर्सौंदेखि यो कुप्रथालाई त्याग्न नसकिएको बताउनुभयो । “यस पटक जिल्लामा छाउगोठ हटाउने अभियान नै थालिँदा चेत खुलेको छ, अब मसहित छोरीबुहारी कसैलाई पनि छाउगोठमा बस्न दिन्नँ,” उहाँले भन्नुभयो ।
शुक्रबार वेदकोट नगरपालिका–१० स्थित दुर्गम बस्ती चतहरीमा वडा कार्यालयको आयोजना र स्विट नेपालको सहकार्यमा छाउगोठसम्बन्धी अन्तर्क्रिया तथा सचेतना कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका सहभागीले छाउगोठलाई मनैबाट हटाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले छाउगोठ बारेर देवीदेवता खुसी हुने भन्ने गलत धारणाले महिला छुट्टै बस्दै आएकाले यसलाई मनैबाट हटाउनुपर्ने बताउनुभयो ।
महिनावारी भएका बेला छुट्टै गोठ बनाएर बस्दै आएका यहाँका महिला अब भने छाउगोठ भत्काउन अग्रसर भएको पालिकाका उपप्रमुख जोशीले बताउनुभयो । छाउपडी प्रथा नभई यो कुप्रथा भएकाले यस कुरीतिलाई पखाल्न जरुरी रहेको उहाँले बताउनुभयो । वडा नं. १० का अध्यक्ष रतनसिंह विष्टले दलित, जनजातिको बसोबास रहेको यस दुर्गम बस्ती चतहरीमा छाउगोठसम्बन्धी अन्तर्क्रिया कार्यक्रिम आयोजना गरिएको बताउनुभयो । सदरमुकामभन्दा टाढा शुक्लाफाँटा निकुञ्ज क्षेत्रसँग जोडिएको यस बस्तीका महिला छुट्टै छाउगोठमा बस्दै आएका थिए तर अहिले जनचेतनासँगै छाउगोठसम्बन्धी अन्तर्क्रिया गर्दा महिलाले छाउगोठमा नबस्ने प्रतिबद्धता जनाएका कारण दुर्गमबाटै छाउगोठको निवारण जरुरी देखिएको अध्यक्ष विष्टले बताउनुभयो ।
स्थानीय सरकार, प्रहरी प्रशासनको उपस्थितिमा स्थानीयले छाउगोठ भत्काएपछि शुक्रबार उनीहरूकै घरआँगनमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले छाउगोठजन्य कुप्रथालाई सबैले हटाउनुपर्ने बताउनुभयो । छाउगोठमा बस्नु कानुनसम्बद्ध तरिकाले पनि अनुचित रहेको उहाँले बताउनुभयो । यदि कसैले रजस्वलाका बेला छुट्टै छाउगोठमा बसेको पाइए, रजस्वलाका बेला अमानवीय व्यवहार गरेको पाइए तीन महिना कैद सजायसम्म हुन सक्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले पश्चिम क्षेत्रमा देखिएको छाउपडीजन्य कुप्रथाको निवारण गरिनु जरुरी रहेको बताउनुभयो । मानिस सबल र सक्षम हुँदै गए यी कुप्रथालाई नअँगाल्ने उहाँले बताउनुभयो ।