नयाँदिल्ली, भदौ ५ गते । भारतको राजधानीस्थित जलवायु-नियन्त्रित कोठामा पुनःस्थापनाकर्ताले नयाँदिल्लीको अतीतलाई बुझ्न अनमोल झ्याल प्रदान गर्ने दुर्लभ ऐतिहासिक कागजात र कलाकृति सावधानीपूर्वक मिलाउँदै छन् ।
इन्दिरा गान्धी नेसनल सेन्टर फर द आट्र्स (आइजिएनसिए) का विज्ञले बिग्रिएका नक्सा र पुराना तस्बिरलाई पुनर्जीवित गर्दै छन् । यी सामग्रीहरूले हाल तीन करोडभन्दा बढी मानिस बसोबास गर्ने विशाल महानगरको विकासक्रमलाई बुझ्न सहयोग गर्छ । यस कार्यले हजारौँ वर्षदेखि बसोबास र परिवर्तनका लहर पार गर्दै आएको बहु-धार्मिक तथा बहु-सांस्कृतिक सहरको थप गहिरो समझ बनाउन मद्दत गरेको छ ।
“हामीले स्मृति जोगाइरहेका छौँ”, आइजिएनसिएको संरक्षण प्रयोगशालाका प्रमुख अचल पाण्ड्याले भन्नुभयो, “जुन देशसँग स्मृति हुँदैन, त्यो देश केही हुँदैन ।” सबैभन्दा बहुमूल्य पुनः स्थापित सामग्रीमा विल्सन सर्वेक्षण नक्सा पनि पर्छन् । यी नक्सा सन् १९१० देखि १९१२ को बिचमा एक ब्रिटिश औपनिवेशिक अधिकारीले तयार पारेका करिब दुई सय ५० कागजातको संग्रह हुन् ।
यी नक्सा १७ औँ शताब्दीमा मुगल सम्राट शाहजहाँले शाहजहाँनाबादका रूपमा राजधानी स्थापना गरेको पुरानो दिल्लीमा केन्द्रित छन् । नक्सामा त्यति बेलाको कहाँ बस्थे भन्ने विवरण सावधानीपूर्वक अङ्कित गरिएको छ । “तपाईंले केवल नक्सा मात्र हेर्नु हुन्न, यहाँका मानिसको जीवन र इतिहास पनि बुझ्न सक्नु हुन्छ”, नयाँदिल्ली नगर परिषदको सम्पदा पुनः स्थापना टोलीका सदस्य सञ्जीव कुमार सिंहले भन्नुभयो ।
लामो समयको उपेक्षाले यी नाजुक कागजातलाई अझै कमजोर बनाएको छ । राजधानीको कठोर मौसम-गर्मीको तीव्र तापक्रम, आद्र्र मनसुन र जाडोको चिसो-सहित विश्वकै खराब वायु प्रदूषणले तिनलाई थप बिगारेको छ । यदि सन् २०२२ मा संरक्षण कार्य सुरु भएको थिएन भने यी कागजात अहिले टुक्रिन्थे भन्ने पुनःस्थापनाकर्ताको भनाइ छ । “यसको महत्व मर्ने व्यक्तिलाई अक्सिजन चाहिने जत्तिकै हो”, सिंहले भन्नुभयो । रासस/एएफपी