अमरराज नहर्की
तनहुँ, भदौ ५ गते । ट्रयाक खुलेको २९ वर्षपछि मानपुर–डेढगाउँ–बुलिङटार सडक कालोपत्र गरिएको छ । गण्डकी प्रदेशको गौरव आयोजनाको मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दुरीको उक्त सडकअन्तर्गत कालोपत्र गरिएको हो ।
घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरु भएर डेढगाउँको सिमानासम्मको १२ किलोमिटर खण्डमा सडक अस्फाल्ट प्रविधिको कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । वि.सं २०५१ मा ट्रयाक खुलेको उक्त मार्गमा कालोपत्र गरिएको हो ।
उक्त खण्ड स्तरोन्नतिका लागि वि.सं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो । कार्यालयका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु २२ करोड ८५ लाख ४१ हजार सातसय ९३ को लागतमा कालोपत्र सुरु गरिएको थियो । शालिग्राम काेरिडोरअन्तर्गत सो सडकको कालोपत्र गरिएपछि पानी पर्दा हिलो र नपर्दा धुलोको सास्ती हटेको छ ।
मानपुर-डेडगाउँ सडकको १२ किमि र शालिग्राम करिडोर अन्र्तगत १० किमी सडक कालोपत्रे गरिएको हो । दुवै सडक गण्डकी प्रदेशका गौरवका आयोजना हुन् ।
देवघाट-भतेरी खण्डमा भने निर्माण जारी छ । यो सडकका निम्ति कूल रु ४१ करोड ५२ लाख ४१ हजार विनियोजन भएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार रु २६ करोड एक लाख ५७ हजारको लागतमा मानपुर–डेढगाउँ सडक कालोपत्र भएको हो । शालिग्राम करिडोरमा रु १७ करोड ६९ लाख खर्च भएको छ ।