खेमराज सापकोटा
रानी (मोरङ), भदौ ५ गते । मोरङको विराटनगर महानगरपालिका –४ दुधफारम चोकमा बुधबार राति भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
मोरङ प्रहरीका अनुसार राति करिब साढे ८ बजे चेकजाँचका लागि रोकेको मिनी ट्रकमा पछाडिबाट मोटरसाइकल ठोक्किँदा सुनसरीको बर्जु गाउँपालिका –६ निवासी २८ वर्षीय पुष्पकुमार चौधरीको ज्यान गएको हो ।
विराटनगरबाट नेमुवातर्फ जाँदैगरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई प्रहरीले रोकिरहेको अवस्थामा सोही दिशातर्फ तीव्र गतिमा गइरहेको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक चौधरीलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि ट्रक र चालक मोरङ बुढीगङ्गा गाउँपालिका –१ का ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।