• ५ भदौ २०८२, बिहिबार

स्क्रब टाइफसका बिरामी बढ्दै

blog

बर्दियाको ठुलो अस्पताल बर्दिया अस्पतालमा बिरामीको चाप बढ्दै ।

यज्ञप्रसाद सापकोटा

गुलरिया(बर्दिया) भदौ ५ गते । बर्दियामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । पछिल्लो समयमा उपियाँ र किर्नाले टोकेर लाग्ने रोग स्क्रबटाइफस रोग हरेक वर्ष बढ्दै गएको हो । 

स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार बर्दिया जिल्लामा स्क्रबटाइफसका बिरामीको सङ्ख्या बढ्दै गएको छ । बिरामीहरूमध्ये दाउरा घाँस काट्न जाने, घर गोठमा काम गर्ने महिलाहरू बढी भएको पाइएको छ । बर्दिया जिल्लाका आठ वटै नगरपालिकामा गत आर्थिक वर्ष २०८१-८२ मा महिला एक हजार तीन सय ५१ र पुरुष आठ सय ३८ जना गरी जम्मा दुई हजार एक सय ८९ जनामा स्क्रबटाइफस फेला परेको थियो । 

त्यसैगरी आर्थिक वर्ष २०८०-८१ मा नौ ५३ महिला र पाँच सय ५० पुरुष गरि एक हजार पाँच सय तीन जनामा स्क्रबटाइफस पोजेटिभ देखिएको थियो भने आर्थिक वर्ष २०७९-८० मा एक सय ७७ महिला र ७९ पुरुष गरी दुई सय ५६ जनामा स्क्रबटाइफस फेला परेको थियो । 

बर्दिया जिल्लामा हरेक बर्ष स्क्रबटाइफसका बिरामीको सङ्ख्या बढ्दै गएका स्वास्थ्य कार्यालय बर्दियाकी सुचना अधिकारी पद्माकुमारी श्रेष्ठले बताउनुभयो । उहाँले तुलनात्मक रुपमा पुरुषले भन्दा बढी महिलाले घाँस जङ्गल र घरगोठको काम बढी गर्ने भएकोले महिलालाई नै बढी स्क्रबटाइफस पोजेटिभ देखिने गरेको बताउनुभयो । 

गत आर्थिक वर्षमा बर्दियाको बारबर्दिया नगरपालिकामा सबैभन्दा बढी स्क्रबटाइफसका बिरामी फेला परेका थिए । बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले धान काट्ने सिजनमा बढी स्क्रबटाइफस फेला पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बारबर्दिया नगरपालिकामा गरिएको अध्ययनमा धान काट्न जाने महिला पुरुषमा, घर र शौचालय कच्ची भएको र घर गोठ नजिक भएको वा जोडिएको स्थानका बिरामीहरूमा स्क्रबटाइफस बढी फेला पर्ने गरेको छ । 

बर्दियाकै ठुलो अस्पतालमा बर्दिया अस्पतालमा साउन महिनामा मात्र ५५ जनामा स्क्रबटाइफस फेला परेको छ । गत आर्थिक वर्ष २०८१-८२ मा बर्दिया अस्पतालमा छ सय ५० जनामा स्क्रबटाइफसका बिरामी फेला परेका थिए । बर्दिया अस्पतालका अनुसार नवजात शिशुमा समेत स्क्रबटाइफस फेला परेको छ । 

बर्दिया अस्पतालका फिजिसियन डा. मनोज तिमिल्सिनाले माइट भन्ने भुसुनाको टोकाइबाट सर्ने बताउनुभयो । उहाँका अनुसार ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने र खान मन नलाग्ने जस्ता लक्षण देखिएमा स्क्रबटाइफस जाँच गराउनुपर्ने बताउनुभयो । विशेषगरी खेतबारी र जङ्गलको छेउछाउमा काम गर्नेहरूलाई भुसुनाले बढी टोक्ने र बिरामी हुने गरेको उहाँले बताउनुभयो । 

बर्दिया जिल्लामा स्क्रबटाइफसको प्रकोप बढ्दै गए पनि चेकजाँचको लागि किट भने अत्यन्त न्यून आउने गरेको छ । बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पौडेलका अनुसार सबैभन्दा बढी बिरामी फेला पर्ने ठाउँमा समेत वार्षिक करिब एक सय वटा मात्र किट आउने गरेको छ । 

सरकारले निःशुल्क किट नपठाउँदा बिरामीले न्यूनतम छ सय रुपियाँ शुल्क तिरेर स्क्रबटाइफसको चेकजाँच गराउने गरेका छन् भने निजी प्याथाेलोजीमा आठ सय रुपियाँदेखि एक हजार दुई सय रुपियाँसम्म शुल्क तिरेर स्क्रबटाइफसको चेकजाँच गर्ने गरिएको पाइन्छ ।