• ५ भदौ २०८२, बिहिबार

नेपालगन्ज-गुलरिया सडक खण्डमा तीन वटा पुल बन्ने

blog

बाँकेको खजुरास्थित चार लेन सडकको बिचमा रहेको दुई लेनको किरणनाला पुल । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, भदौ ५ गते । नेपालगन्ज-गुलरिया सडक खण्ड विस्तार कार्य अन्तिम चरणमा चलिरहँदा साँघुरा रहेका पुल पनि विस्तार गरिने भएको छ । 

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लिलाबहादुर भण्डारीले चार लेन सडकमा साँघुरा रहेका पुल विस्तार गर्न लागिएको जानकारी दिनुभयो । बाँकेको खजुरा गाउँपालिकामा २ र बर्दियाको बढैयाताल गाउँपालिकामा गरी ३ वटा पुल विस्तार गर्न लागिएको हो । 

योजना प्रमुख भण्डारीले भन्नुभयो, "चार लेन सडक भएकाले सहज आवागमनका लागि त्यहाँभित्रका पुल पनि चारलेनको बनाउन लागेका छौं ।"

खजुरा गाउँपालिका-३ स्थित किरण नाला पुल केही वर्षअघि मात्रै निर्माण भएको दुई लेन सवारी सञ्चालन हुने पुल साँघुरो भएपछि सोही स्थानमा दुई लेनको अर्को पुल निर्माण गरिने भएको छ । पुल निर्माणका लागि हाल नक्साङ्कनको कार्य भइरहेको छ । 

यसैगरी बर्दियाको बढैयाताल गाउँपालिकामा पर्ने चपला नालामा रहेको पुल पनि चारलेनको बनाइनेछ । त्यसका लागि माटो परीक्षण सहित नक्साङ्कनको कार्य जारी छ । दुबै पुलको अन्य औपचारिकता पूरा गरी चालु आवभित्रै ठेक्का आव्हान गर्ने कार्यालयको तयारी छ । पुलको चौडाई ११ मिटर हुने छ । 

खजुरा गाउँपालिका-३, खेजुरा बजारस्थित पेडारी नालामा रहेको जीर्ण पुल भत्काएर भ्याट सहित आठ करोड ९६ लाख रुपियाँमा नयाँ पुल बनाउन ठेक्का सम्झौता भइसकेको छ ।