सुजन बज्राचार्य
संखुवासभा, भदौ ४ गते । नेकपा (एमाले) संखुवासभाले यसै वर्ष करिब १ करोड रुपियाँ लागतमा नयाँ पार्टी कार्यालय भवन निर्माण गर्ने भएको छ । खाँदबारी नगरपालिका –१ को पोखरी बजारमा रहेको पुरानो कार्यालय जीर्ण बनेपछि नयाँ भवन बनाउन लागिएको जिल्ला अध्यक्ष खड्गबहादुर राईले जानकारी दिनुभयो ।
बुधबार बसेको जिल्ला कमिटीको छैटौं पूर्ण बैठकले भवन निर्माण गर्ने निर्णय गरेको हो । पार्टीले आगामी २०८३ असारभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । यसका लागि सदस्यबाट सहयोग संकलन अभियान सुरु गर्ने र देउसीभैलोमार्फत रकम संकलन गर्ने तयारी रहेको संखुवासभा प्रचार विभाग प्रमुख नविन दाहालले जानकारी दिनुभयो ।
बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले “राष्ट्रिय गौरव प्राप्त व्यक्ति सक्रिय पार्टी सदस्य बन्न नमिल्ने” धारणा राख्नुभएको थियो । त्यस्तै, केन्द्रीय सदस्य तुलसीप्रसाद न्यौपानेले अन्तरपार्टी निर्देशनको महत्व र दशौं राष्ट्रिय महाधिवेशनका उपलब्धीबारे प्रष्ट पार्नुभएको थियो ।
पार्टीको विधान महाधिवेशन भदौ २० गतेबाट सुरु हुने तय भएको छ, जसमा संखुवासभाबाट १४ जना प्रतिनिधि सहभागी हुने भएका छन् । बैठकमा कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, जिल्ला अध्यक्ष राईलगायत नेताहरूले पनि आफ्ना धारणा राख्नुभएको थियो ।