• १५ पुस २०८२, मङ्गलबार

गुल्मीमा फोन नलाग्ने समस्याले स्थानीय हैरान

blog

टेलिफोनमा समस्या देखापरेको इस्माको बस्ती । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास(गुल्मी), भदौ ४ गते ।
गुल्मीको इस्मा गाउँपालिकाको आसपासमा फोन नलाग्ने समस्याले यहाँका स्थानीयले हैरानी खेप्नुपरेको छ ।  गाउँपालिका–१ र २ का बस्तीहरूमा टेलिकमको सेवा सहज नहुँदा यहाँका स्थानीय नागरिक सञ्चार सेवाबाट वञ्चित बन्न पुगेका हुन् ।

इश्मा गाउँपालिका वडा नम्बर–१, गुरुवा, राहले, झरना, छिनुवा, हुलाकेलगायतका तल्लो भेगका बस्तीहरूमा नेटवर्क सम्पर्कमै समस्या देखिएको छ भने वडा नम्बर–२ का छल्दि टारी, पालुखा, सिल्तुङ, स्याला, रातचौर, रातडाँडालगायत क्षेत्रहरूमा पनि फोन सम्पर्क गर्न समस्या भइरहेको स्थानीयले गुनासो गरेका छन् ।

यस्तै, रेसुङगा नगरपालिका–४, पनाहघाट क्षेत्रका बासिन्दाहरूले पनि लामो समयदेखि नेपाल टेलिकमको मोबाइल नेटवर्क कमजोर हुँदै गएको जनाएका छन् । नेटवर्क समस्या हुँदा मोबाइलबाट फोन सम्पर्क, इन्टरनेट प्रयोग, एसएमएस सेवा लगायतका नियमित कार्यमासमेत हैरानी खेप्नुपरेको इस्मा–२, छल्दीका अनिल खत्रीले बताउनुभयो ।

फोन गर्दा समयमै नलाग्ने,फोन लागेमा पनि राम्रोसँग कुराकानी नहुने उहाँले बताउनुभयो । नेपाल टेलिकमको नेटवर्क समस्याले इस्मा–२ को वडा कार्यालयमै फोन नलाग्ने गर्दा सेवाग्राहीहरूले पनि समस्या झेल्दै आएका छन् । जसले गर्दा सेवा लिन जाने सेवाग्राहीसमेत समस्यामा परेको बताउँदै आएका छन्  ।

इस्मा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष लोकनाथ आचार्यले सेवा सुधारका लागि नेपाल टेलिकमको ध्यानाकर्षण गराएको बताउनुभयो ।

नेपाल टेलीकम दूरसञ्चार कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर सुवेदीका अनुसार विद्युत् सेवा नियमित नभएका कारण समस्या देखापरेको बताउनुभयो । त्यस क्षेत्रमा रहेको टेलिकमका टावरहरूमा विद्युत् सेवा नियमित नहुँने र टावरका जिपिएसहरू नचलेका कारण समस्या देखा परेको उहाँको भनाइ छ ।

लामो समयसम्म ब्याकअपले थेग्न नसक्ने र एक स्थानमा विद्युत् हुँदा अर्को स्थानमा नहुने गर्दा पनि थप समस्या हुँदै आएको उहाँले बताउनुभयो । उक्त समस्यालाई समाधान गर्नका लागि सिर्सेनी, धुर्कोटलगायतका क्षेत्रमा टावरहरू राख्ने कार्य अगाडि बढेको सुवेदीले बताउनुभयो ।