बर्दीबास समाचारदाता
बर्दीबास, भदौ ४ गते । महोत्तरीको उत्तरी भेगमा परेको वर्षाले चुरे क्षेत्रका बस्तीलाई जोखिममा पारेको छ । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण चुरे भेगका पाँच वटा वडाका दर्जनभन्दा बढी बस्तीमा कतै आवागमन असहज र कतै ठप्प पारेको वडाध्यक्षले बताउनुभएको छ । बाढीले खानेपानीेको मुहानमा समेत क्षति पु¥याएपछि जनजीवन प्रभावित बनेको हो ।
वडा नं. ३ का वडाध्यक्ष विराट विष्टका अनुसार भुल्केखोलाको बाढीले सुदूर उत्तरवर्ती पर्साइधाप गाउँ नै जोखिममा छ । बाढीले जीर्ण अवस्थाको तारजालीमा क्षति पु¥याएपछि ११२ घरधुरी रहेको पर्साइधाप र त्यहाँको दुई सय बिघा खेतीयोग्य जमिन कटानको जोखिममा छ ।
स्थानीय मैते मुक्तानका अनुसार बाढीले गाउँदेखि दुई किलोमिटर उत्तर जालीसहित तटबन्ध उधिनेकोले जोखिम बढेको हो । उहाँले भन्नुभयो, “ठुलो बाढी आयो भने बस्ती नै बगाउने खतरा छ । त्रासले गाउँलेको भोक तिर्खा हराएको छ ।” वडाध्यक्ष विराट विष्टले जसोतसो खोलासम्म डोजर पु¥याउन सकिए पनि बाढी आउने व्रmम नथामिएकोले पूर्ण क्षमतामा तटबन्ध मर्मत गर्न नसकिएकोे बताउनुभयो ।
विष्टका अनुसार वर्षा लागेयता वडाको पर्साइधाप मात्र जोखिममा छैन । रातु र उर्राखोलाको क्षतिले राजावास, कालापानी र मर्का गाँउबिचको सम्पर्क टुटेको छ । उहाँले भन्नुभयो, “यी बस्तीको अवस्था पीडादायी छ । पाटुदेखि भवसी जाने बाटो पनि क्षतिग्रस्त छ । यी भेगमा सवारी आवागमन ठप्प हुँदा सुत्केरी बिरामीको बिचल्ली छ ।”
बाढी र वर्षाले वडा नं. ४ लाई पनि दुःख दिएको छ । त्यहाँको रानाटोल जाने बाटोमा क्षति पुग्दा आवागमन बन्द छ । वडाध्यक्ष अक्कलबहादुर तामाङका अनुसार चेरुखोलाले भक्तिपुर खानेपानी मुहानमा क्षति पु¥याउँदा सय परिवार समस्यामा छन् । वडाध्यक्ष तामाङले भन्नुभयो, “खोलाको लेदो माटोले मुहान धमिलिएको छ । मुहानको आपत्कालीन सुरक्षाका लागि वडा र नगरपालिका मिलेर प्रयास सुरु गरेका छौँ ।” दर्जनभन्दा बढी खोला र खहरेको घेराबन्दीमा परेको वडा नं. ५ पनि बाढी र वर्षाले आव्रmान्त छ । बाढी वर्षाले धान खेत र बाटोघाटोमा क्षति पुग्नाले वडाको जनजीवन प्रभावित भएको उहाँले बताउनुभयो ।
स्याङ्तानले भन्नुभयो, “वडामा मडाहा, शिरखोला, ढुङ्ग्रे, टुटेश्वर र गढन्ता गरी पाँच वटा ठुला नदी छन् । त्योभन्दा बढी खहरे र खोल्सी छन् । बाढी आउँदा वडाको आवागमन घन्टौँसम्म ठप्प हुन्छ । बाढी घटेपछि पैदल आवागमन खुले पनि क्षतिग्रस्त सडकमा सवारी गुड्न सकेको छैन । वरडाँडासमेत सुदूर उत्तरवर्ती बस्तीको सम्पर्क अहिले पनि टुटेको छ ।” खोला र खहरेमा आएको बाढीले नगरक्षेत्रको खयरमारास्थित वडा नं. १० र ११ को अवस्था पनि प्रभावित भएको वडा नं. १० का वडाध्यक्ष प्रमोद मोक्तानले बताउनुभयो । भौगोलिक विषमता रहेको महोत्तरीमा यो पटक बाढी र वर्षाको प्रकोप जिल्लाको चुरे क्षेत्रमा देखिए पनि दक्षिणी भेगमा भने भदौ लागिसक्दा पनि अनावृष्टिको अवस्था छ ।
सोनमा गाउँपालिकाको सीमावर्ती वडा नं. ३ रघुनाथपुरका जितेन्द्र यादवले भन्नुभयो, “दक्षिणी भेगमा त बादल पनि देखिन छाड्यो । आफ्नै जिल्लाकै उत्तरी भेगमा बाढी र वर्षाको कुरा सुन्दा यता पत्याउन पनि गाह्रो भएको छ ।”