• ७ भदौ २०८२, शनिबार

मकै जोगाउन रातदिन चौकीदारी

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, भदौ ४ गते । यहाँका किसान मकैबाली जोगाउन रातदिन खेतबारीमै चौकीदार बस्ने गरेका छन् । जाजरकोटका सात वटा स्थानीय तहका किसानले लगाएको मकैबाली जङ्गली जनावरले नष्ट गर्न थालेपछि खेतबारीमा बस्ने गरेका हुन् । एक वर्षमा एउटा मकैबाली र ज्याला मजदुरीबाट जीविकोपार्जन गरेका किसानले रोपेका मकै दाना लाग्ने बेला बाँदर, बँदेलले सखाप गर्न थालेपछि खेतबारीमै चौकीदार गर्न गरेका छन् । भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुसे गाउँपालिकालगायत स्थानीय तहका किसान पाक्ने बेलाका मकै जनावरले सखाप पार्न थालेपछि परिवारका सदस्य आलोपालो चौकीदारी गर्न गरिरहेका छन् । 

भेरी नगरपालिका–१३ का लालबहादुर रोकायाले पाक्न थालेको मकै बाँदर, दुम्सी, बँदेलले खान थालेपछि दिनरात चौकीदार गर्नु परेको बताउनुभयो । बाँदर भगाउन मान्छेको आकृति बनाएर राख्ने, होहल्ला गरी मकै जोगाउनलाई बारीमै जाग्राम बस्ने गरेको उहाँको भनाइ छ । बाँदर, बँदेलले लगाएको मकै बाली सखाप पार्न थालेपछि कृषि पेसाबाट जीविकोपार्जन गरेका किसान समस्यामा परेका छन् । यस वर्ष बँदेलले मकै खान थालेको भन्दै किसानले डिभिजन वन कार्यालयमा निवेदन दिएपछि कार्यालयबाट अनुगमन गरिएको छ ।

नलगाड नगरपालिका–४ की सिर्जना रावलले बिहानदेखि बेलुकासम्म बाँदर, दुम्सी, बँदेलले मकै सखाप पार्न थालेपछि पालो गरी मकै बारीमा बस्ने गरेको बताउनुभयो । वर्षभरि खाने मकै जङ्गली जनावरले खान थालेपछि समस्यामा परेको उहाँको भनाइ छ । हिउँदमा गहुँ, बर्खामा मकैबालीबाट बिहानबेलुकाको छाक टारेका किसान मकै पाक्न थालेपछि खुसी भए पनि भित्र्याउने समयमा बाँदर, बँदेल, दुम्सीलगायत जङ्गली जनावरले भाँच्ने, चुँडाल्ने गरेपछि सर्वसाधारण चिन्तित भएका छन् । 

नलडाग नगपालिका–४, पिपलचौरका लक्ष्मीबहादुर रावलले बाँदर, दुम्सी, स्यालले मकै खेतीमा क्षति पु¥याउन थालेपछि बिहानदेखि बारीमा जाने गरेको बताउनुभयो । उहाँले ढिला गरेर बारीमा जाने हो भने मकै सखाप पार्ने चिन्ता रहेको उल्लेख गर्नुभयो । गाउँबस्तीका सबै दाजुभाइ मिलेर आआफ्नो बारीमा वस्ने गरेको उहाँले जानकारी दिनुभयो । सरकारले जङ्गली जनावरलाई नियन्त्रण गर्ने कानुन बनाए पनि झन्झटिलो प्रक्रिया भएका कारण किसानले कृषि पेसा छोड्न थालेका छन् ।