• ३ भदौ २०८२, मङ्गलबार

राष्ट्रिय मिनी स्केट म्याराथन असोजमा

blog

स्केट प्रतियोगिता बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, भदौ ३ गते । द स्केट ल्यान्डको आयोजनामा तथा नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ सङ्घको सहकार्यमा आगामी असोज ४ गते गोकर्णमा पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन हुने भएको छ । 

काठमाडौँ सुन्दरीजलको आलापोटबाट सुरु भई गोकर्ण तालीम चोकमा सम्पन्न हुने उक्त प्रतियोगिता पाँच किलोमिटरको दुरी रहेको छ । नेपालमा पहिलो पटक इनलाइन स्केटिङको राष्ट्रिय प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगितामा नेपाल, भारत र दुबईका गरी दुई सय खेलाडीले सहभागिता जनाउने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक द स्केट ल्यान्डका संस्थापक अब्राहिम राईले जानकारी दिनुभयो । 

प्रतियोगितामा स्वर्ण विजेताले ५० हजार रुपियाँ, स्केट सुज, सेफ्टी गियर, रजत विजेताले ३० हजार र स्केट सुज तथा कांश्य पदक विजेताले १५ हजार रुपियाँ र सेफ्टी गियर प्राप्त गर्ने छ ।

प्रतियोगिातमा नेपालका तीन सय भन्दाबढी स्केट पार्कमा रहेका उत्कृष्ट खेलाडी तथा भारतबाट ५० बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । 

प्रतियोगिताको लक्ष्य नेपालमा स्केट खेलको विकास तथा यो खेलमा आबद्ध युवा खेलाडीहरूलाई व्यावसायिक बनाउने रहेको नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ सङ्घका अध्यक्ष अच्युत खनालले बताउनुभयो ।