शिवकुमार रिजाल
मनहरी (मकवानपुर), भदौ ३ गते । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका १ स्थित दुर्गम गाउँ इन्द्रुङका २६ वर्षीय सुमनसिंह चेपाङको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
खोरियाखेतीमा आश्रित रही छाप्रो हालेर नाजुक जीवन बिताइरहेका सुमन, उहाँकी श्रीमती र एक महिने शिशुसहितलाई राक्सिराङ गाउँपालिका ५ स्थित कार्यालयबाट खाद्यान्न सहयोग गरिएको राक्सिराङ गाउँपालिकाले जनाएको छ ।
नाजुक आर्थिक अवस्थामा गुज्रिरहेको परिवारलाई खाद्यान्न नै पहिलो आवश्यकता रहेकाले तत्कालका लागि एक बोरा चामल, नुन, तेललगायत सामग्रीको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । ‘कमजोर आर्थिक अवस्था रहेको परिवारलाई मैले पहिला पनि भेटेको थिएँ’, अध्यक्ष मल्लले भन्नुभयो, ‘यो आर्थिक वर्षमा घर पनि बनाउने योजना छ, अहिलेलाई खाद्यान्न हस्तान्तरण गरेका छौं ।’
गत साउन ५ गते जन्मेको नवजात शिशुको स्याहार गर्न र छाप्रोमा बसेर जीवनयापन गर्नका लागि समस्या भइरहेपछि परिवारै गाउँपालिकामा सहयोगका लागि आएका थिए । नाजुक आर्थिक अवस्था भएर जीवनयापनमा समस्या भएका परिवारलाई गाउँपालिकाले बेलाबेलामा सहयोग गर्ने गरेको कार्यपालिका सदस्य एवम् ५ नं वडाध्यक्ष हरिबहादुर प्रजाले बताउनुभयो ।
जनता आवास कार्यक्रममार्फत लामो समयदेखि घर निर्माण गरेर जनतालाई हस्तान्तरण गर्ने गरेको भए पनि पहुँचविहीन चेपाङ परिवार वञ्चित हुने गरेको घटनाहरु सार्वजनिक हुने गरेको छ । मकवानपुरसहित चितवन, धादिङ, गोरखा र तनहुँका जङ्गल छेउका बस्तीहरुमा बसोबास गर्ने चेपाङको जनसङ्ख्या झण्डै १ लाख छ ।