सन्ताेष सुवेदी
कास्की, भदौ ३ गते । पुम्दी–भुम्दी पर्वतीय दौड नारालाई आत्मसाथ गर्दै विश्व पर्यटन दिवसको सन्दर्भमा आउँदो असोज ४ गते शनिवार आयोजना हुने दोस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।
पर्यटनको राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा क्लिक प्रालिको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।
विश्वशान्ति स्तुपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा समापन हुने आठ किमी पर्वतीय दौडमा खुला, वडास्तरीय, महिला, यू–१६ र पर्यटन तथा ४० वर्षमाथिका भेट्रानतर्फको प्रोत्साहन गरी ६ वटा इभेन्ट समावेश गरिएको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा अघिल्लो संस्करणका तुलनामा पुरस्कार राशी दोब्बर गरिएको छ भने दुई इभेण्टमा थप गर्दै प्रोत्साहन पुरस्कार व्यवस्था समेत गरिएको छ । प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्नेछन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ३० हजार, १५ हजार, सातहजार, तीनहजार र छैटौँदेखि १० औं स्थानसम्म दूरी पूरा गर्ने धावकलाई जनही एकहजार नगद पदक र प्रमाणपत्रसहित पुरस्कृत गरिने भएको छ ।
गत वर्ष खुलातर्फको इभेन्टमा प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार क्रमशः २५ हजार, १५ हजार र सातहजार रुपियाँ थियो ।
यसैगरी, वडास्तरीय, खुल्ला महिला र यू–१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही सातहजार रुपियाँसहित पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपियाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले अनलाइन फराम भर्नुपर्नेछ ।
यही भदौ २५ गतेसम्म मात्र धावकहरुले अनलाइन फारममार्फत आफ्नो नाम दर्ता गराउन सक्ने प्रतियोगिताका निर्देशक ओम लामाले बताउनुभयो । उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख ९१ हजार रुपियाँ खर्च हुने प्रालिका व्यवस्थापक सागर सुनारले बताउनुभयो ।