• ३ भदौ २०८२, मङ्गलबार

चीनले भारतको मल, दुर्लभ खनिज र टनेल बोरिङ मेसिनको आवश्यकतामा सहयोग गर्ने आश्वासन

blog

नयाँदिल्ली, भदौ ३ गते । चीनले भारतका तीन प्रमुख चिन्ताहरू दुर्लभ खनिज तत्व, मल र टनेल बोरिङ मेसिनको आवश्यकतालाई सम्बोधन गर्ने वाचा गरेको छ । स्रोतअनुसार, चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करलाई चीनले भारतका यी तीन आवश्यकता पूरा गर्न सहयोग गर्ने आश्वासन दिनुभयो ।

चिनियाँ विदेशमन्त्री दुई दिने भ्रमणका लागि सोमबार भारत आइपुग्नुभएको हो । यसअघि सोमबार विदेशमन्त्री जयशङ्करले आफ्नो प्रारम्भिक टिप्पणीमा ‘आर्थिक र व्यापारिक मुद्दा, तीर्थयात्रा, जनता-जनताबिचको सम्पर्क, नदी डाटा साझेदारी, सीमा व्यापार, कनेक्टिभिटी र द्विपक्षीय आदानप्रदान’ मा छलफल हुने बताउनुभएको थियो । उहाँहरूले यस वर्ष जुलाईमा भएको चीन भ्रमणको क्रममा उठाइएका चिन्तालाई पनि पछ्याउनुभएको थियो ।

चिनियाँ विदेशमन्त्रीसँगको भेटमा जयशङ्करले भारत-चीन सम्बन्धका विभिन्न पक्ष र आयामबारे जोड दिनुभएको थियो । “यस सन्दर्भमा प्रतिबन्धात्मक व्यापार उपाय र अवरोधबाट बच्न आवश्यक छ । भारत र चीनबिचको स्थिर र रचनात्मक सम्बन्ध हाम्रो मात्र होइन, विश्वकै फाइदाका लागि हो । आपसी सम्मान, आपसी हित र संवेदनशीलताको आधारमा सम्बन्ध सम्हालिँदा यो अझ राम्रो हुन्छ”, उहाँले भन्नुभयो, “मतभेद विवाद वा प्रतिस्पर्धाको द्वन्द्वमा बदलिनु हुँदैन ।”

चिनियाँ विदेशमन्त्रीको भारत भ्रमणले दुई देशलाई द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने र विश्वव्यापी अवस्था तथा आपसी हितका मुद्दामा विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेको उहाँले बताउनुभयो । पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ सेनाको गतिविधिले उत्पन्न गतिरोधपछि भारत–चीन सम्बन्ध बिग्रिएको थियो । 

यो गतिरोध सन् २००० अप्रिल-मेमा सुरु भएको हो, जसमा केही घर्षण विन्दुबाट सेना फिर्ता गर्ने सम्झौतापछि केही तनाव घटेको छ । सन् २०२४ को ब्रिक्स शिखर सम्मेलनअघि भारत र चीनले एलएसीमा गस्ती व्यवस्था गर्ने सहमति गरेका थिए । हालका महिनामा दुवै देशले सम्बन्ध सुधार गर्ने कदम चालेका छन् । भारतले पूर्वी लद्दाखमा एलएसीमा ‘डि-एस्केलेसन’ (तनाव घटाउने प्रक्रिया) अघि बढाउनुपर्नेमा जोड दिएको छ । 

युक्रेन युद्धको समाधान खोज्ने प्रयास र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउनुभएको करका कारण उत्पन्न भू-राजनीतिक उतारचढावबिच जयशङ्करले विश्वव्यापी अर्थतन्त्रमा स्थिरता बढाउन आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट ३१ देखि सेप्टेम्बरसम्म तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन चीन जाने अपेक्षा गरिएको छ । रासस/एएनआई