• ३ भदौ २०८२, मङ्गलबार

टप टी–२० सिरिज: नेपालको पहिलो जित, नन्दनले एक्लै लिनुभयाे पाँच विकेट

blog

तस्बिर क्यान

काठमाडौँ, भदौ ३ गते। अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ ।  मङ्गलबार भएको चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । 

टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १८१ रनको चुनौती पछ्याएको हरिकेन्स १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११४ रनमा समेटिएको हो । नेपालको जितमा नन्दन यादव नायक बन्नुभयो । तीन ओभर बलिङ गर्नुभएका नन्दनले १७ रन दिएर पाँच विकेट हात पार्नुभएको हो ।

यसअघि टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाउनुहुँदा आशिफ शेखले २९ रन जोड्नुभयो। कुशल भुर्तेलले २७ रन बनाउँदा नेपालका लागि लोकेश बमले नटआउट विस्फाेटक ब्याटिङ गर्दै ११ बलमा २५ रन जोड्नुभयो। भीम सार्कीले १८ रन जोड्नुभयो भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। नेपालले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १८० रन बनाएको हो।

नेपाललाई सस्तैमा रोक्न हरिकेन्सका लागि निवेथान राधाकृष्णन र राफ म्याकमिलनले दुई, दुई विकेट लिनुभयो।

१८१ रनको लक्ष्य पछ्याएको हरिकेन्सका लागि ब्राडली होपले ३१, चार्ली वाकिम २८ र ज्याक कर्टेन २१ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले टिकेर खेल्न सकेनन्।

होबार्टविरुद्ध कसिलो बलिङ गरेको नेपालका लागि नन्दन यादवले पाँच विकेट लिँदा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल र रिजन ढकालले एक, एक विकेट हात पार्नुभयो।


नेपालले यसअघि तीन खेलमा लगातार पराजयको सामना गरेको थियो पहिलो खेलमा अस्ट्रेलियाको नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग ३२ रनले पराजित हुँदा तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो। यो जितसँगै सिरिजमा नेपालले दुई अङ्क जोडेको छ।