काठमाडौँ, भदौ ३ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ नाडा अटो साेको उद्घाटन गर्नुभएको छ।
भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले नयाँ ढङ्गले काम गर्ने युवालाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाउनुभयो। ‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरू र पूर्वाधार विकास गरेका छौँ। लगानी र काम गर्न कुनै बाधा छैन’, उहाँले भन्नुभयो।
उहाँले उत्तर र दक्षिणमा नयाँ मार्ग बनेको र अन्तर्राष्ट्रिय विमास्थल थपेर विकास र समृद्धिमा अगाडि बढेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरू बन्दैछन्, अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौँ। हरित उर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौं। प्रविधिको रूपान्तरण भैसकेको छ। यी सबैको ध्येय विकास र समृद्धि हो। यसमा तपाईंहरू ढुक्कले अगाडि बढ्नुस्। देशका लागि योगदान दिनुहोस्।’