• ३ भदौ २०८२, मङ्गलबार

चीन-भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’मा रहेको वाङ यीको भनाइ

blog

चिनियाँ विदेशमन्त्री वाङ यी ।

बेइजिङ, भदौ ३ गते । चीन र भारतबिचको सम्बन्ध सहयोगको दिशामा ‘सकारात्मक प्रवृत्ति’ मा रहेको चिनियाँ विदेशमन्त्री वाङ यीले नयाँदिल्लीमा आफ्ना भारतीय समकक्षीसँगको भेटपछि मङ्गलबार प्रकाशित विवरणअनुसार बताउनुभएको छ ।

विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका राष्ट्रहरू दक्षिण एसियाभरि प्रभावका लागि प्रतिस्पर्धा गर्ने तीव्र प्रतिद्वन्द्वी हुन् र सन् २०२० मा उनीहरूबिच घातक सीमा द्वन्द्व भएको थियो । भारत संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जापानसँगको क्वाड सुरक्षा गठबन्धनको सदस्य हो । क्वाडलाई चीनले आफ्नो प्रतिरोधका रूपमा हेर्दै आएको छ ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर युद्धले निम्त्याएको विश्वव्यापी व्यापार र भूराजनीतिक उथलपुथलबिच यी दुई देश सम्बन्ध सुधारतर्फ अघि बढिरहेका छन् । सोमबार भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करसँगको वार्तामा वाङले दुई देशले एकअर्कालाई विरोधी वा खतराको सट्टा साझेदार र अवसरका रूपमा हेर्नुपर्ने बताउनुभयो ।

द्विपक्षीय सम्बन्ध ‘सहयोगको मुख्य मार्गमा फर्कने सकारात्मक प्रवृत्ति’ मा रहेको प्रमाणका रूपमा उहाँले ‘सबै तहमा वार्ता पुनः सुरु भएको’ र ‘सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम भएको’ कुरा औँल्याउनुभयो । वाङ आफ्नो तीन दिने भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने अपेक्षा गरिएको छ ।

भारतीय मिडियाका अनुसार मोदी यसै महिना चीनको भ्रमण गर्न सक्नु हुनेछ । यो सन् २०१८ पछि उहाँको पहिलो भ्रमण हुने छ । मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसमा पाँच वर्षपछि पहिलो पटक भेट गरेपछि अक्टोबरदेखि सम्बन्धमा सुधार आएको मानिन्छ । चिनियाँ र भारतीय अधिकारीले हालैका हप्तामा दुई देशले सन् २०२० देखि रोकिएको सीमा व्यापार पुनः सुरु गर्नेबारे छलफल गरिरहेको बताएका छन् । 

यसको पुनः प्रारम्भ प्रतीकात्मक रूपमा महत्वपूर्ण हुने बताइन्छ र यसपछि प्रत्यक्ष उडान पुनः सुरु गर्ने तथा पर्यटक भिसा जारी गर्नेबारे पनि छलफल हुने अपेक्षा गरिएको छ । रासस/एएफपी