• ३ भदौ २०८२, मङ्गलबार

पातेटाकुरा पुल : एक वर्षमा २५ प्रतिशत काम

blog

पातेटाकुरा खोलाको पुल निर्माणस्थल । तस्बिर : लीलाधर वली

लीलाधर वली   

घोराही, भदौ ३ गते । निर्माण व्यवसायीका कारण पुल निर्माणमा ढिलाइ भएको छ । दाङको गहतेखोला–बाघमारे–पुरन्धारा सडक खण्डअन्तर्गत पातेटाकुरा खोलामा पुल निर्माणमा ढिलाइ भएको हो।

पुल निर्माणका लागि ठेक्का सम्झौता भएको आधा बढी समय बितिसक्दा निर्माण व्यवसायीको ढिलाइका कारण पुलको २५ प्रतिशत मात्र काम भएको छ । तुलसीपुर उपमहानगरपालिका–१ र शान्तिनगर गाउँपालिका–३ वडालाई जोड्ने गरी पातेटाकुरा खोलामा निर्माणाधीन पुलको एक वर्षको अवधिमा करिब २५ प्रतिशत भौतिक प्रगति भएको छ । 

२० मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको पक्की पुल २०८२ पुस १५ गतेभित्र निर्माण सक्ने गरी २०८१ असार १६ गते प्रेमा कन्ट्रक्सन र सप्लायर्स प्रालि मोरङ्सँग ठेक्का सम्झौता भएको थियो । भ्याटसहित चार करोड दश लाख ४४ हजार रुपियाँमा ठेक्का लागेको पुलको अहिलेसम्म २५ प्रतिशत भौतिक र १६ दशमलव ३७ प्रतिशत वित्तीय प्रगति भएको सडक पूर्वाधार विकास कार्यालय दाङका इन्जिनियर प्रशान्तकुमार इसरले जानकारी दिनुभएको छ । 

इन्जिनियर इसरका अनुसार अहिले पुल निर्माण अन्तर्गत फाउण्डेशन निर्माणको काम भइरहेको छ । फाउण्डेशन निर्माणका क्रममा समय धेरै लाग्ने भएका कारण पुलको भौतिक प्रगति अहिले कम देखिएको भन्दै इन्जिनियर इसरले भन्नुभयोे,‘‘पुल निर्माणका लागि फाउण्डेशन निर्माणको काममा धेरै समय लाग्ने गर्दछ । अहिले पातेटाकुरा खोलामा फाउण्डेशन निर्माणको काम भइरहेको छ । फाउण्डेशन निर्माणको काम सकिएपछि स्टक्चर निर्माणको काम चाँडै हुनेछ ।’’ 

ठेक्का सम्झौता अनुसार पुल निर्माणको काम सन्तोषजनक रहेको भन्दै इन्जिनियर इसरले पुल निर्माणमा ढिलाइ नहुने बताउनुहुन्छ । सम्झौता मितिमै पुल निर्माणको काम सक्ने गरी कार्य भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘‘निर्माण व्यवसायीले वर्षाको समयमा पनि पुलको फाउण्डेशन निर्माणअन्तर्गत पाइलिङको काम गरिरहेको छ । फाउण्डेशन निर्माणको काम सकिएपछि पुलको स्टक्चर निर्माणको कामले गति लिनेछ ।’’ निर्माण व्यवसायीले नियमित काम गरिरहेकाले पुस सकिने काम १÷२ महिना ढिलाइ भए पनि धेरै नहुने इन्जिनियर इसर बताउनुहुन्छ । 

पुल निर्माण भएपछि शान्तिनगर गाउँपालिकाअन्तर्गत पातेटाकुरा, चिराघाट, जुम्लेकुला, बाघमारेलगायत गाउँका स्थानीयलाई तुलसीपुर बजार आउनजान सहज हुने शान्तिनगर गाउँपालिका–३ पातेटाकुरा निवासी जीतबहादुर केसी बताउनुहुन्छ ।