• ३ भदौ २०८२, मङ्गलबार

लोककृष्ण भट्टराईको नयाँ कृति

मार्क्स, लेनिन र पुष्पलालको ‘निर्वासन’ सार्वजनिक

blog

काठमाडौँ, भदौ ३ गते । मार्क्स, लेनिन र पुष्पलालको प्रवासका विषयलाई केन्द्रमा राखेर लेखिएको पुस्तक ‘निर्वासन (एक्जाइल)’ सार्वजनिक भएको छ । यस कृतिमा मूलतः मार्क्सवादी दर्शन र पुष्पलालका विचारलाई केन्द्रमा राखिएको छ र नेपाली कम्युनिस्ट आन्दोलन र मुलुकको राजनीति सो बमोजिम चल्न नसकेको निष्कर्ष प्रस्तुत गरिएको छ । यस पुस्तकका लेखक हुनुहुन्छ–पुराना वामपन्थी नेता, लेखक तथा वरिष्ठ पत्रकार लोककृष्ण भट्टराई । 

माक्र्स, लेनिन र पुष्पलालले निर्वासनमा बसेर कम्युनिस्ट साहित्यको रचना र सङ्गठन गरेका थिए, यसको यथार्थ वर्णन ‘निर्वासन’ कृतिमा गरिएको छ । सात दशकको जीवन व्यतीत गरिरहेका भट्टराईको यो पुस्तक दोस्रो कृति हो । यसअघि नेपाली संस्कृति र सभ्यतासँग सम्बन्धित ‘नेपाली सभ्यता ः विगत र वर्तमान’ नामक कृति प्रकाशित भएको थियो । 

मन्तव्य शीर्षकमा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ लेख्नु हुन्छ, ‘‘पुष्पलालको जन्म शताब्दी पारेर प्रकाशित गरिएको यस पुस्तकले पुष्पलाल नेपालको मात्र जनवादी नेता होइन, दक्षिण एसिया र विश्वकै एक होनाहार कम्युनिस्ट नेता हो भन्ने प्रमाणित गर्छ र यसमा विदेशीहरूका भनाइसमेत समावेश गरिएकाले यो पुस्तक सङ्ग्रहणीय रहेको छ ।’’

प्रा.डा. हेमनाथ पौडेल ‘वैचारिक दृष्टि र अनुभवको सुन्दर प्रस्तुति’ शीर्षकमा आफ्नो मन्तव्यमा लेख्नुहुन्छ, ‘‘यस कृति अध्ययनबाट नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको सन्दर्भ र पुष्पलालको योगदानका सम्बन्धमा नयाँ जानकारीहरू प्राप्त भएका छन् । प्रवासमा पुष्पलालको खोजका क्रममा पुष्पलाल रहे–बसेका कार्य गरेका नेपाल–भारतका विभिन्न स्थलको भ्रमण गरी जुन तथ्यहरू बटुलिएको छ, त्यसबाट उत्खननकाे कार्य नै भएको देखिन्छ ।’’ 

यसैगरी, वरिष्ठ पत्रकार युवराज घिमिरेले ‘आफ्नै शैलीको उपयोगी पुस्तक’ भनी मन्तव्य लेख्नुभएको छ । 

पुस्तक लेख्ने क्रममा लेखकले दक्षिण एसिया र युरोपको यात्रा गर्नुभएको र तीनैजना व्यक्तित्वको जन्मस्थल र कार्यस्थलको अवलोकन गर्नुभयो अनि त्यसको जानकारी यस पुस्तकमार्फत पाठकलाई गराउनुभएको छ । यो पुस्तकका धेरै पन्ना चित्रमय भएकाले यो पुस्तक बालकदेखि ज्येष्ठ नागरिकसम्मलाई स्वतः आकर्षिक गर्ने खालको छ । यस पुस्तकमा भट्टराईले कम्युनिस्ट एकताको खाँचो औंल्याउनु भएको छ । यसका साथै संविधान संशोधन गरी नेपाललाई समृद्ध बनाउन अग्रसरता लिन पनि घचघच्याउनुभएको छ । 

लेखक भट्टराईले पछिल्लो अवधिमा खास गरी गणतन्त्र प्राप्तिपछिका वर्षमा देखापरेको नेपाली राजनीतिको अवस्था र त्यसका परिदृश्यलाई तथ्यगत रूपमा प्रस्तुत गर्नुका साथै तिनमा आफूले खेलेको भूमिका, प्रवासमा पुष्पलालको खोज सन्दर्भ तथा युरोप यात्राका क्रममा मार्क्सको जन्मस्थल र समाधिमा पुग्दाको अनुभवलाई समावेश गर्नुभएको छ । 

तीन खण्डमा विभाजन गरेर पुस्तक लेखिएको छ । पहिलो खण्ड नेपाली राजनीति, नेपाली कम्युनिस्ट आन्दोलन र पुष्पलाल शीर्षकमा छ भने दोस्रो खण्ड युरोप भ्रमण ः लेनिन र कार्लमाक्र्स शीर्षकमा तथा तेस्रो खण्ड चाहिँ र समापन शीर्षकमा रहेको छ । पहिलो खण्डमा गणतन्त्रपछिको नेपाली राजनीतिक अवस्थालाई चिरफार गरिएको छ र यस क्रममा हाम्रो नेतृत्व कहाँ चुक्यो भन्ने कुरालाई विश्लेषण गएिको छ । 

भट्टराईले तत्कालीन नेतृत्वले २०७२ को संविधान निर्माणका क्रममा आमसहमति जुटाउन नसक्दा र दोस्रो संविधान सभाको गठनपश्चातका अवधिमा मधेशी दलका साथै आन्दोलनमा प्रत्यक्ष सहभागी भएका कतिपय वाम समूह समेतलाई मूल प्रवाहबाट बाहिर रहने परिस्थिति सृजना गर्दा वर्तमान संविधानमा सबैको अपनत्वबोध हुन नसकेको तर्क पेश गर्नुभएको छ । यस क्रममा विभिन्न उपशीर्षकमा नेपालको राजनीतिमा भएका विभिन्न घटना र सन्दर्भलाई प्रस्तुत गर्नुका साथै आफूले गरेका प्रयत्न र प्रयासलाई पनि यहाँ उल्लेख गरिएको छ । 

पहिलो खण्डमै नेपालको राजनीतिक इतिहास र पुष्पलालको योगदानका बारेमा आफ्ना विचार उल्लेख छ भने यही क्रममा पुष्पलाल स्मृति–प्रतिष्ठान गठनको प्रसङ्ग र पुष्पलालको प्रवासमा खोजको क्रममा गरिएको नेपाल–भारतका विभिन्न स्थानको भ्रमण र छायाङ्कनका सन्दर्भ तथा भारतीय नेता र पुष्पलालसँग सङ्गत गरेकाहरूले पुष्पलालका बारेमा गरेको मूल्याङ्कनलाई प्रस्तुत गरिएको छ । 

यस कार्यमा स्वयं लोककृष्ण भट्टराईको नेतृत्वमा देवशङ्कर पौडेल, श्रीहरि श्रेष्ठ, किरण मोक्तान, सचितानन्द राई र सावित्री भट्टराई आदिको मुख्य योगदान रहेको छ । त्यसैयरी, रामेछापका कैलाश ढुङ्गेल, ज्ञानकुमार श्रेष्ठ, रमेशबाबु श्रेष्ठलगायतका नेता, कार्यकर्ता र भारत प्रवासमा रहेका विभिन्न व्यक्तित्वहरूको समेत सहयोगमा प्रवासमा पुष्पलालको खोज भएको उल्लेख छ । पुष्पलालको खोजको क्रममा रामेछाप, ओखलढुङ्गा, सिन्धुपाल्चोक, काठमाडौँ, काेलकाता, बनारस, दिल्ली, पटना, दरभङ्गा, दार्जिलिङ, सिलिगुडी, रक्सौल, गोरखपुर, गौरीफन्टा, वनवासा, देहरादुन, आसाम, मेघालय आदि नेपाल–भारतका स्थानहरूमा पुगेको र ऐतिहासिक तथ्यहरू बुझ्दै, बटुल्दै छायाङ्कन गरिएको उल्लेख छ । 

दोस्रो खण्ड युरोप भ्रमणको अनुभव तथा लेनिन र कार्ल माक्र्ससँग सम्बन्धित छ । यस क्रममा कार्ल माक्र्सको जन्म र समाधिस्थल पुग्ने ६२ वर्षदेखिको आफ्नो प्रबल इच्छालाई पूरा गर्न पाएकोमा खुसी भएको प्रसङ्गका साथ छोरी शैलुको निम्तामा भट्टराई दम्पति फिनल्यान्ड गएको, त्यस क्रममै युरोप भ्रमण गरेको र यस क्रममा लेनिनका साथै कार्ल माक्र्सको जन्मस्थल र समाधिमा समेत पुगेको बयानका साथ त्यहाँका विशेषताको वर्णन गरिएको छ । 

विभिन्न मुलुक भ्रमण गर्दाका अनुभव, अनुभूति र विकास संरचनाहरूलाई वर्णन गरिएको छ । यस यात्रा वृत्तान्तले सम्बन्धित मुलुकको अवस्थिति, जनजीवन, संस्कृति, राजनीति र ऐतिहासिक पक्षलाई उजागर गरेको छ र यस क्रममा नेपालका पनि कतिपय सन्दर्भलाई प्रसङ्गवस जोडेको छ । 

भारतको दरभंगास्थित पुष्पलालको पार्टी कार्यालय र नेपाल कम्युनिष्ट पार्टीको दरभंगा प्लेनम भएको स्थान । 

दोस्रो खण्डमै लेनिनका राजनीतिक गतिविधि र कार्ल माक्र्सको जन्म र समाधिस्थलको अवलोकन गर्ने क्रममा माक्र्सको जीवनी, उनले प्रतिपादन गरेको दर्शन र उनका योगदानलाई समेत प्रस्तुत गरिएको छ । यस क्रममा जोडिएका लेनिन र अन्य दार्शनिक चिन्तकहरू, राजनीतिक  नेता र व्यक्तिहरूको समेत चर्चा यसमा भएको छ । यस हिसाबले दोस्रो खण्ड पनि निकै पठनीय र जानकारीमूलक बनेको छ । तेस्रो खण्डमा लेखकले दुवै खण्डका निष्कर्षलाई प्रस्तुत गर्नुभएको छ । उहाँका विचारमा आर्थिक क्रान्ति र समतामूलक समाज सिर्जना गर्न जनताको जनवादी वा समाजवादी गणतन्त्र आवश्यक छ । 

यो पुस्तक राजनीतिक दस्ताबेज र नियात्राको कृति हो । यसमा लेखकका वैयक्तिक, पारिवारिक सन्दर्भ पनि आएका छन् र लेखनका क्रममा निजी घटनासँग सम्बन्धित संस्मरणहरूले पनि स्थान पाएका छन् । यस कृतिमा नेपालको राजनीतिक विश्लेषणमा होस वा खोज अध्ययन अथवा युरोप भ्रमणको सन्दर्भको लेखनमा होस लेखकले आफ्नो निश्छलता र इमानदारितालाई पालना गरेको देखिन्छ । वर्णनात्मकता भए पनि भाषिक सरलता, प्रस्तुतिमा सरसता एवं वैचारिक सुस्पष्टताले गर्दा पुस्तक पठनीय बनेको छ ।

समग्रमा नेपाली कम्युनिस्ट आन्दोलनमा पुराना र इमानदार नेताका रूपमा परिचित लोककृष्ण भट्टराईले लेख्नुभएको यो कृति विशेषतः सत्तरीको दशकपछिको नेपालको राजनीतिक अवस्था र उहाँका विचार बुझ्न महत्वपूर्ण सामग्री बनेको छ । वस्तुतः यो पुस्तक वैचारिक दृष्टि र अनुभवको एउटा सुन्दर प्रस्तुति हो ।