काठमाडौँ, भदौ ३ गते । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटले देशमक्त र राष्ट्रसेवकको खोजी गर्दै हुलाक टिकटमा जीवन्त बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँमा आज हुलाक सेवा विभागद्वारा आयोजित सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्दै मन्त्री गुरुङले भन्नुभयो, “हुलाक टिकटले इतिहास जोगाउँछ र यस्ता राष्ट्रसेवकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गर्छ ।”
सरदार भीमबहादुर पाँडे देशभक्त काजी कालु पाँडेका छैटाैँ पुस्ताको सन्तति हुनुहुन्छ । उहाँ भारतबाट वाणिज्य शास्त्र विषयमा स्नातकोत्तर गर्ने पहिलो नेपाली समेत रहनुुभएको छ । प्रशासन, कूटनीतिक, लेखनलगायत समाजसेवामा उहाँले गरेको योगदानको सम्मानस्वरुप हुलाक टिकट प्रकाशन गरिनु ठुलो उपलब्धि रहेको मन्त्री गुरुङको धारणा छ । साथै यसले अग्रजको आदर गर्ने र युवा पुस्तालाई असल कार्य गर्न प्रेरणा मिल्ने उहाँले बताउनुभयो ।
हुलाक सेवा विभागले पछिल्लो समय देशभक्त र राजनीतिज्ञसँगै समाजमा लोपोन्मुख रहेका रैथाने बाली, संस्कृति, परम्परा र जनजीवनको समेत हुलाक टिकटमा प्रकाशन गरेर प्रचार प्रसार गर्ने कार्य भएको जानकारी दिनुभयो ।
कार्यक्रममा सरदार भीमबहादुर पाँडेका आफन्ती, छोराछोरी सहभागी हुुनुहुुन्थ्यो । जसमा उहाँका माइला छोरा हिमालय पाँडेले बुबा भीमबहादुर पाँडेको नामम हुलाक टिकट प्रकाशन गर्नुले राष्ट्रबाट पूरै परिवार नै सम्मानित भएको महसुस गरेको बताउनुभयो ।
सञ्चार सचिव राधिका अर्यालले सरदार भीमबहादुरको जीवनी, सङ्घर्ष र योगदानबाट आफू सधैँ प्रेरित रहेको सुुनाउनुभयो । खासगरी नेपालको प्रशासनिक क्षेत्रमा उहाँले देखाउनुभएको कुशलता र बुुद्धिमत्ताले आगामी पुस्ताका लागि महत्वपूर्ण पाठ बनेको सञ्चार सचिव अर्यालको धारणा छ ।
विभागका महानिर्देशक मनमाया पंगेनी भट्टराईले सरदार भीमबहादुर पाँडेजस्ता राष्ट्रसेवकको नामको हुलाक टिकट केवल कागज मात्रै नभई सिङ्गो मुलुकको ऐतिहासिक दस्तावेज रहेको बताउनुभयो । विभागले राष्ट्रमा योगदान पुर्याएका व्यक्तित्वको खोजी गर्दै हुलाक टिकट प्रकाशन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।