प्रेमराज सिम्खडा
कालीकोट भदौ ३ गते । कालीकोटको रास्कोट नगरपालिकाले प्रक्रिया मिचेर कर्मचारीको छनोट गरेपछि विवाद भएको छ । नगरपालिकामा रिक्त अमिन चौथो पदका लागि छनोट प्रक्रिया नमिलेको भन्दै एक स्थानीयले जिल्ला प्रशासन कार्यालय कालीकोटमा उजुरी दिएका छन् ।
गत वैशाख २६ गते प्रकाशित सूचना अनुसार छोटो सूचीमा परेकामध्येबाट सरेश लुवारलाई अमिन पदमा सिफारिस गर्दा छनोट समितिमा रहने विज्ञ सदस्य सोही तह अर्थात् चौथो तहको कर्मचारी राखेर प्रक्रिया मिचेको भन्दै प्रशासनमा उजुरी परेको हो ।
रास्कोट नगरपालिका– १ का कर्मराज सज्यालले अमिन पदमा सिफारिस गर्दा जिल्ला नापी कार्यलय कालीकोटमा चौथो तहमा कार्यरत दिपेन्द्र अधिकारीलाई विषयविज्ञका रुपमा राखेर कानुन विपरीत परीक्षा सञ्चालन गरेकाले बदर गरी पुनः परीक्षा सञ्चालनको माग गर्नुभएको छ ।
उहाँले विषयविज्ञ एकै तहको नहुने भन्दै एक तहमाथिको विषय विज्ञका रुपमा राख्नुपर्ने कानुनी व्यवस्था भएका बेला नगरपालिकाले कानुन विपरीत विषय विज्ञ राखेर छनोट गरेको प्रक्रिया बदर गर्न मैले उजुरी दिएको सज्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘म यहाँको एक नागरिक हो, को छनोट भयो भन्ने कुरासँग कुनै सरोकार छैन मात्र कानुन विपरीत सेम तहको विषयविज्ञ राखेर लिएको परीक्षा बदर गरियाेस् मेरो माग सुशासन कायम गर्न र कानुनको पालना गराउनु रहेको छ ।’’
परीक्षा छनोट समितिका संयोजक तथा रास्कोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिहं बमले यस विषयमा प्रतिक्रिया दिन मान्नु भएन । उहाँका अनुसार आफू काममा भएकाले एक छिन पछि खबर गर्ने भन्दै फोन राख्नुभयो भने पुनः फोन गर्दा फोन उठाउनुभएन । कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आफू कहाँ उजुरी आएको कुरा कार्यालय बाहिर भएकाले थाहा नभएको बताउनुभयो । कार्यालय गएपछि के रहेछ त्यसको प्रक्रिया थालिने उहाँले बताउनुभयो ।
रास्कोट नगरपालिकाले यस अघि पनि कानुन विपरित धेरै नियुक्त गराएर काम गर्दै आएको छ । तर प्रशासन र अख्तियारले पनि खासै चासो दिएको छैन । लाइसेन्स बिनाका शिक्षक नियुक्ति, प्रमाणपत्र बिनाका मनोसमाजिक परामर्शदाता सचिवालय गठन लगायतका काम कानुन विपरीत गर्दै आएको छ ।