अमृतप्रसाद पौडेल
म्याग्दी, भदौ ३ गते । म्याग्दीको प्रदेश अस्पताल बेनीमा उपचारका लागि आएकी ७० वर्षीया महिलामा मियासिस पुष्टि भएको छ । मियासिस मानव शरीरमा जिउँदो माइगोट(लार्भा-किरा)को सङ्क्रमण हुने समस्या हो ।
मियासिसको सङ्क्रमणले नाक मुखबाट रगत निस्केको तथा सङ्क्रमण मुखसम्म फैलिँदा उहाँको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उपचारका लागि अस्पताल आउनुभएको थियो । बेनी अस्पतालका मेडिकल अधिकृत डा.देवान कार्कीका अनुसार स्वास्थ्यकर्मीहरूले उपचारका क्रममा तीन दिन लगाएर एक सय ३५ वटा लार्भा (किरा) निकालिएको थियो ।
चार दिनसम्म निरन्तर प्रयासपछि मुखभित्र भएका सबै किरा निकालेर आठ दिनसम्म अस्पतालमै भर्ना गरी उपचार गरेर अहिले डिस्चार्ज गरिएको डा.कार्कीले बताउनुभयो । उपचारका लागि आएको पहिलो दिन ६५ किरा चिकित्सकले निकालेको र त्यसपछि चार दिनसम्म गर्दा एक सय ३५ किरा मुखबाट निकालिएको उहाँले जानकारी दिनुभयो ।
सुरुमा नाक हुँदै सक्रमण विस्तारै मुखसम्म फैलिँदा उहाँलाई खानपिन, बोल्न र श्वास फेर्नसमेत कठिनाइको अवस्थामा पुगेको थियो । मुखभित्रको अधिकांश भाग किराले खाएको हुँदा पूर्णरुपमा निको हुनका लागि उहाँलाई करिब एक वर्ष लाग्न सक्ने अनुमान गर्न सकिन्छ । सामान्य मानिस भएको भए छ महिनासम्ममा निको हुन सक्ने भए पनि वृद्धावस्था अनि कमजोर स्वास्थ्य अवस्थाले गर्दा उहाँलाई समस्या छ डा.कार्कीले भन्नुभयो ।
सङ्क्रमण निकै जटिल थियो, लार्भा गहिरो भागमा पुगिसकेको थियो, धैर्यपूर्वक चरणबद्ध रूपमा सबै किरा हटाइयो उपचारमा संलग्न डा.कार्कीले सुनाउनुभयो । उहाँका अनुसार बिरामीलाई हाल पनि चिकित्सकको निगरानीमा नै राखिएको छ ।
मियासिस भनेको झिँगाले मानव वा जनावरको शरीरमा अण्डा पारेपछि त्यसबाट निस्केका लार्भाले जीवित वा मृत शरीरमा गर्ने आमण र क्षति हो । प्रायः खुला घाउ, नाक, कान, मुख वा आँखामार्फत झिँगाको लार्भा शरीरमा पस्ने गर्छ । मियासिसको सङ्क्रमण भएमा घाउ वा नाक–मुखबाट किरा निस्कनु, असह्य पीडा, दुर्गन्ध आउनु र सङ्क्रमण बढ्दै जाने डा. कार्कीको भनाइ छ । सङ्क्रमण भएको खण्डमा किरा हटाउने, घाउ सफा गर्ने तथा आवश्यक औषधीको प्रयोग गर्ने नै हो, उपचार ढिलाइ भएको खण्डमा बिरामीको ज्यानै जान सक्नेसम्मको खतरा हुने उहाँको भनाइ छ ।
यो रोग विशेषगरी वृद्धवृद्धा, अशक्त, अस्वच्छ अवस्थामा बस्ने तथा एक्लै जीवन बिताउने व्यक्तिमा बढी देखिन्छ । त्यस्तै यो रोग एसियाको नेपाल र भारत, दक्षिण अफ्रिकामा बढी मात्रामा देखिने गरेको भए पनि अमेरिकामा पनि नगन्य मात्रामा भेटिने गरेको डा.कार्कीको भनाइ छ ।
मियासिसबाट बच्नका लागि शरीर सफा राख्ने, खुला घाउ ढाकेर राख्ने, घरपरिवार र वरिपरि फोहाेर सफा गर्ने, वृद्धवृद्धा वा अशक्तलाई नियमित हेरचाह गर्ने जस्ता गतिविधिमा चुस्तता चाहिने चिकित्सकको भनाइ छ । समयमै रोगको पहिचान र उपचार भए बिरामीलाई निको पार्न सकिने भए पनि ढिलो गरिएमा ज्यानसमेत जोखिममा पर्ने चिकित्सकहरूको भनाइ छ ।
म्याग्दीमा पहिचान भएको बिरामीको नाक र मुखको बिचको भाग किराले सबै नष्ट गरी सकेको अवस्थाले गर्दा मुखबाट खाएको खानेकुरा नाकबाट बाहिर आउने अवस्था पुगेको छ । हाल नाकबाट पाइपको सहाराले खानेकुरा खाने गरेको बिरामीलाई अझै थप उपचारको आवश्यकता देखिएको र त्यसका लागि माथिल्लो अस्पताल जान पर्ने डा.देवान कार्कीको भनाइ छ ।