• १० भदौ २०८२, मङ्गलबार

सङ्कटमा ङ्यामलुङ ताल

blog

यदुप्रसाद भट्ट

मनाङ, भदौ ३ गते । मनाङ जिल्लाको प्रमुख आकर्षणमध्ये एक ङ्यामलुङ ताल हाल सङ्कटमा पर्न थालेको छ । समुद्री सतहबाट तीन हजार ८२० मिटरको उचाइमा अवस्थित यो ताल हाल जलवायु परिवर्तन, हिमपहिरो र मानवीय गतिविधिका कारण सुक्ने अवस्थामा पुगेको छ । गर्मीयामपछि तालको पानी झन् कम हुँदै गएका कारण यो ताल अब अस्तित्व गुमाउने खतरामा पुगेको विज्ञहरूले चेतावनी दिएका छन् ।

यो ताल नासोँ गाउँपालिका–६ र ७ को भिम्थाङनजिकै पर्दछ । यो तालको क्षेत्रफल पनि साँघुरिँदै गएको छ । तालको पानीले ओगेटेको विगतको अवस्था र हालको अवस्था साँघुरिँदै गएको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो । 

नासोँ गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले जलवायु परिवर्तनले ङ्यामलुङ ताल मात्रै नभई मनाङका सबै हिमताल सुक्दै गएको र संरक्षण अभावमा सङ्कटमा परेको बताउनुभयो । यो ताल सुकेको र खोल्सो परेर खोलिएको तीन वर्षभन्दा बढी नभएको नासोँ गाउँपालिका तिल्चेका स्थानीय धर्मजङ्ग गुरुङले बताउनुभयो । उहाँले तीन वर्षअघिसम्म पर्खालको घेरासम्म नै टिलपिल टिलपिल पानी भएको बताउनुभयो । तालको तल्लो क्षेत्र भासिएर पानी चुहिँदा ताल सुक्दै गएको हो कि भन्ने लागेको उहाँले बताउनुभयो । 

स्थानीयको भनाइमा पहिले पानीले भरिभराउ देखिने ङ्यामलुङ ताल अहिले बालुवा र माटोले भरिएको देखिन्छ । यसले पर्यटनमा समेत असर पारेको छ । यसका अतिरिक्त मनाङको खाङ्सार क्षेत्रमा मुन लेक, हिदम लेक जस्ता नयाँ तालको पहिचान भएको छ । यी नयाँ ताललाई पनि पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यले पदमार्ग, साइनबोर्ड र पूर्वाधार विस्तार गरिँदै आएको छ । हिउँदमा यी ताल जमेर चट्टान झैँ देखिन्छन्, जसले पर्यटकलाई छुट्टै अनुभव दिन्छ । 

ताल संरक्षण र पर्यटन प्रवर्धनको समन्वयमा स्थानीय सरकार, पर्यटन व्यवसायी तथा संरक्षण संस्थाको साझा प्रयास आवश्यक रहेको सरोकारवालाको भनाइ छ । प्राकृतिक ताल संरक्षण गर्न आवश्यक रहेको स्थानीय तथा अनुसन्धानकर्ताको सुझाव छ । पछिल्ला दिनमा कतिपय ताल मैदानमा परिणत भएका छन् ।